देश

बोरिङ मर्मत गरेर किसानलाई सिँचाइ सुविधा

दिप्शन गुरुङ
२०८२ बैशाख १५ | मध्यान्ह १२:०१ बजे
 

वडा कार्यालयले दुई लाख रुपैयाँ खर्चेर बिग्रिएको बोरिङ मर्मत गरेको हो। ‘वर्षौंदेखि बोरिङ बिग्रँदा सिँचाइ सुविधाबाट वञ्चित रहँदै आएका थियौँ,’ स्थानीय नेपाली रानाले भने, ‘बोरिङबाट लगातार पानी चुहिँदा नजिकको झण्डै दुई बिघा जग्गा सिमसारमा परिणत भएको थियो।’

बोरिङको भल्ब फेरेपछि आवश्यक बेला खेतमा सिँचाइ गर्न र नचाहिँदा बन्द गर्न सकिने भएको उनले बताए। बोरिङबाट लगातार पानी चुहिँदा खेती गर्न समस्या भएको नत्थु रानाले बताए। ‘बोरिङ मर्मत भएपछि व्यवस्थित तरिकाले खेतमा सिँचाइ गर्न सकिने भएको छ,’ उनले भने, ‘खेतीका लागि चाहिने पानी बोरिङबाटै उपलब्ध हुने भएको छ।’

‘तरकारीखेतीका लागि बोरिङको पानी पुर्‍याउन नसक्दा विगतमा घरको नल्काको मोटरबाट सिँचाइ गर्थ्यौँ,’ सुशीला रानाले भनिन्, ‘बोरिङ मर्मत भएपछि सहजै सिँचाइ गर्न पाइएको छ।’ विसं २०४० अघि किसानका खेतमा सिँचाइ सुविधा उपलब्ध गराएर कृषि उत्पादकत्व बढाउन स्वचालित बोरिङ जडान गरिएको थियो।

बोरिङ जडान भएको केही वर्षसम्म सहजै सञ्चालन भए पनि भल्ब बिग्रिएपछि अलपत्र परेको थियो। भल्ब मर्मतका लागि स्थानीयले रकम जुटाउन नसक्दा पानी चुहिने समस्याले किसानले हैरानी खेपेका थिए।

वडाध्यक्ष कमल ठकुल्लाले स्थानीयको मागअनुसार बोरिङ मर्मत गरी व्यवस्थित सञ्चालनको व्यवस्था मिलाइएको बताए। बोरिङको सुरक्षाका लागि पर्खाल निर्माण पनि गरिएको उनले बताए।

बोरिङले प्रतिसेकेण्ड छ इञ्च पानी फाल्छ। मर्मतपछि वडाका २०० भन्दा बढी किसानको करिब ६० बिघा जग्गामा सिँचाइ सुविधा पुगेको वडासदस्य मनिदत्त पन्तले बताए। स्थानीयले बोरिङको पानी सिँचाइ, लत्ताकपडा धुने, पिउने र बस्तुभाउलाई खुवाउने काममा पनि प्रयोग गर्छन्।

कमेन्टहरु