देश

गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार , को को बन्दैछन् मन्त्री ?

जगत ठाडा मगर
२०७८ साउन ८ | बिहान ०८:०४ बजे

पाेखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गत २९ गते सरकार बनेपछि रोकिएको मन्त्रिपरिषद् आज विस्तार गर्दैछन्।
प्रदेशमा ११ मन्त्रालयमध्ये माओवादी केन्द्रको भागमा परेका ४ मन्त्रालयको टुंगो लागेको छ । माओवादीको भागमा परेको अर्थ मन्त्रालयमा रामजी बराल जीवन, कृषिमा चन्द्रबहादुर बुढा र वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयमा दीपक चर्तीमगर जाने गरी सहमति जुटेको छ ।

यसअघि माओवादीबाट मधु अधिकारी गुरुङ स्वाथ्य तथा जनसंख्या मन्त्री बनिसकेकी छन् । जिल्लागत रूपमा बराल कास्की, चन्द्रबहादुर बागलुङ, दीपक स्याङ्जा र मधुमाया लमजुङकी हुन् ।

सत्तारुढ नेपाली कांग्रेससँग बिहीवार मन्त्रालय भागवण्डामा सहमति जुटेपछि माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री चयन गरेको छ । कांग्रेसले भने आफ्नो भागमा परेका मन्त्रीहरूको नाम टुंगाउन सकेको छैन ।

त्यसका लागि अन्तिम तयारी हुँदै गरेको स्रोतले जनाइएको छ । ५ मन्त्रालय पाउने कांग्रेसले मन्त्रीको नाम टुंग्याउन बिहीवार समेत बैठक बसेको थियो ।
कांग्रेसबाट मुख्यमन्त्री पोखरेलसहित सरकारका प्रवक्ता समेत रहेका कुमार खड्का शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले २ मन्त्रालय पाउने टुंगो भएको छ । जसपाका हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री चयन गरेका छन् भने स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्रीमा चयन गरेका छन् ।

मनाङे अघिल्लो सरकारसहित तेस्रो पटक युवा तथा खेलकुद मन्त्री बनेका हुन् । सबै दलबाट मन्त्रीहरूको टुंगा लागिसकेपछि शुक्रवार दिउँसो शपथ ग्रहण तयारीमा गण्डकी सरकार रहेको प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

पृथ्वीसुब्बा नेतृत्वको सरकारले यसअघि ७ मन्त्रालय फुटाएर ११ मन्त्रालय बनाएको थियो । गण्डकीमा कूल ६० सांसदको २० प्रतिशत अर्थात् १२ मन्त्रालयसम्म बनाउन सकिन्छ ।

कमेन्टहरु