समाचार

आन्दोलनरत शिक्षक र सरकारबिच वार्ता, छलफललाई निरन्तरता दिने सहमति

नवलपुर टुडे
२०८२ बैशाख १३ | बिहान १०:०१ बजे

काठमाडौँ । नेपाल सरकार र आन्दोलनरत शिक्षकहरूबिच शनिबार वार्ता भएको छ । नयाँ शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएपछिको यो पहिलो वार्ता हो । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महास‌ंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आज शिक्षकहरूको माग र आन्दोलनका बारे शिक्षामन्त्रीलाई जानकारी गराउने काम भएको बताए ।

उनले यसबारे थप वार्ता र छलफल गर्ने सहमति भएको बताए पनि अर्को वार्ताको मिति भने तय नभएको जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेसँगै शुक्रवार साँझ नै शिक्षकका केही प्रतिनिधिहरू सिंहदरबार पुगेका थिए ।

तर सरकारले बनाएको वार्ता टोलीप्रति असहमति जनाउँदै गेटबाटै बाहिरिएका थिए । आज भने बिहानै मन्त्रालयमा शिक्षक महासंघका प्रतिनिधिहरू पुगेका थिए ।  गत वर्षको चैत्र २५ गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गर्दै आएका छन् । उनीहरूले सरकारले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म विद्यालय आन्दोलन नरोक्ने चेतावनी समेत दिएका छन् ।
 

कमेन्टहरु