संक्रमणको तेस्रो लहर आउन सक्छ, सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

जगत ठाडा मगर
२०७८ साउन ७ | मध्यान्ह ०५:०४ बजे

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर पनि आउनसक्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै कोरोनाको संक्रमण दर वृद्धि भएकाले तेस्रो लहर आउनसक्ने बताएका हुन्। त्यसैले सबै स्वास्थ्य संघ संस्थालाई अक्सिजन, शय्यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ।

तेस्रो लहर आएर भयाभह स्थिति नहोस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न मन्त्रालयले अनुरोध गरेको अधिकारीले बताए।

‘सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौं’, उनले भने, ‘तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचार कक्ष (आइसियू) र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौं।’

नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको संक्रमण छ। नेपालमा अहिलेसम्म सात लाख २४ हजार ४५५ व्यक्तिमा संक्रमण पुष्टि भएको छ।
यस्तै, छ लाख ३६ हजार ४०२ व्यक्ति कोरोना जितेर घर फर्किएका छन् भने नौ हजार ६३७ को संक्रमणबाट निधन भइसकेको छ।

कमेन्टहरु