बादलले नेपाल पक्षलाई लक्षित गर्दै भने– आफ्नै पार्टीको प्रधानमन्त्रीलाई विस्थापित गर्नु गल्ती होइन, अपराध हो


काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले नेता माधवकुमार नेपाललगायतले आफ्नै पार्टीको प्रधानमन्त्रीलाई विस्थापित गरेर जघन्य अपराध गरेको आरोप लगाएका छन् ।
बिहीबार ललितपुरमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमको समारोहमा उनले यस्तो बताएका हुन् । “आफ्नै पार्टीको प्रधानमन्त्रीलाई विस्थापित गर्ने पार्टीका कमरेडले गल्ती गर्नुभएको छैन, अपराध गर्नुभएको छ,” उनले भने ।
बादलले सर्वोच्च अदालतको परमादेशले निर्दलीय सरकार बनेको तर्क पनि गरे । “ह्वीप नलाग्ने लोकतन्त्र विरुद्धको व्याख्या,” उनले “त्यो धारालाई मेटाउन पुन संविधान संशोधन गर्नुपर्ने र महाधिवेशन मार्फत पार्टीको पुनर्निर्माणको प्रक्रिया सुरु गर्न जरुरी रहेकोमा जोड दिए । पार्टीको अन्तरसंघर्ष वर्गसंघर्षमा परिणत भएको उनले बताए ।
पुष्पलालको विचार आज पनि सान्दर्भिक रहेको भन्दै बादलले सर्वहारा वर्गको नेतृत्व आवश्यक रहेको बताए । उनले भने “कम्युनिस्ट पार्टीको नेतृत्वलाई नयाँ ढंगबाट पुन:स्थापित गर्न जरुरी छ,”।






















