सिन्धुपाल्चोकका बाढी पीडितलाई लोकप्रिय कार्यक्रम ‘ईन्द्रेणी’ को ९० लाख सहयोग


काठमाडौ । टेलिभिजन कार्यक्रम ‘ईन्द्रेणी’ ले सिन्धुपाल्चोकका बाढी प्रभावितलाई अस्थायी आवास निर्माण गर्नका लागि झण्डै ९० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
इन्द्रेणीले हेलम्बु गाउँपालिकामा बाढीबाट प्रभावित १७ परिवारका लागि अस्थायी आवास निर्माण गर्न ६२ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । मंगलबार ‘ईन्द्रेणी’ कार्यक्रमका संचालक कृष्ण कँडेलले हेलम्बुका बाढी प्रभावितहरुकै उपस्थितिमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सो रकम हस्तान्तरण गरेका हुन् ।
भदौको अन्त्यसम्ममा अस्थायी आवास उद्घाटन हुने जनाईएको छ । त्यस्तै, मेलम्चीमा बाढी प्रभावित ५ परिवारलाई अस्थायी आवास निर्माणका लागि झण्डै १८ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
त्यस्तै भोटेकोसी गाउँपालिका –१ का बाढी प्रभावितलाई अस्थायी आवास निर्माणका लागि भन्दै पनि ‘ईन्द्रेणी’ कार्यक्रमले सहयोग रकम हस्तान्तरण गरेको छ । गत असारमा झण्डै ४ लाख रुपैयाँ हस्तान्तरण गरिएकोमा बुधबार झण्डै ६ लाख रुपैयाँ हस्तान्तरण गरिएको कृष्ण कंडेलले जानकारी दिए ।
ईन्द्रेणी कार्यक्रमले यसअघि पनि सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि नगद तथा लत्ताकपडा सहयोग गरेको थियो । ‘त्यहाँको अवस्थाको बारेमा कार्यक्रम प्रसारण गरेपछि देश–विदशेबाट थुप्रै दर्शकले सहयोग पठाउनुभएको थियो । सोही रकम हामीले हस्तान्तरण गरेका कंडेलले बताए ।
‘ईन्द्रेणी’ लोकदोहोरीसँग सम्बन्धित लोकप्रिय कार्यक्रम पनि हो । यो कार्यक्रम हिमालय टेलिभिजनमा प्रशारण हुँदै आएको छ ।






















