राजनीति

उर्लाबारीमा ओली पक्षको नगर कमिटी बैठकस्थलमा तोडफोड

जगत ठाडा मगर
२०७८ साउन ७ | मध्यान्ह ०२:०४ बजे

विराटनगर । मोरङको उर्लाबारीमा नेकपा एमालेको ओली समूहले आयोजना गरेको नगर कमिटीको विस्तारित बैठक विथोलिएको छ ।

फुटको संघारमा पुगेको एमाले उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा नगरस्तरीय विस्तारित बैठक बोलाइएको थियो । उक्त नगरस्तरीय विस्तारित बैठकका लागि तयार गरिएको हलमा बिहीबार तोडफोड भएको हो ।

बैठक अघि कार्यक्रम स्थलमा भएको कुर्सी तोडफोड भएको ओली समूहका नगर संयोजक उमाकान्त गौतमले जानकारी दिए । गौतमका अनुसार कसले किन तोडफोड गर्याे भन्ने टुङ्गो छैन । बिहीबार १२ बजे कार्यक्रम सुरु गर्ने तयारी थियो, तर अज्ञात समूहले ११ बजे कार्यक्रमस्थल तोडफोड गरेको उनले बताए ।

ओली समूहले माधव नेपाल पक्षका कार्यकर्ताहरुले तोडफोड गरेको हुनसक्ने आशंका गरेको छ । तर माधव समूहका नगर अध्यक्ष गंगा बास्तोलाले ओली समूह भित्रकै असन्तुष्ट समूहले तोडफोड गरेको र तोडफोडको बारेमा कुनै जानकारी नभएको बताए ।

‘हामी २०७५ जेठ २ गतेको अध्यक्षले बोलाएको बैठकमा जान्छौ तर एक पक्षीय भेलामा जाँदैनौं,’ बास्तोलाले भने,‘ पद बाँडफाँडको विषयमा उहाँहरु भित्रै विवाद थियो ।’

ओली समूहका एक स्थानीय नेताका अनुसार संयोजक गौतमले आफू निकटलाई मात्रै कमिटीमा राख्न खोजेपछि असन्तुष्ट समूहले तोडफोड गरेको हुन सक्ने बताए । संयोजक गौतमले तोडफोडको विषयमा छानविन भइरहेको बताए ।

कमेन्टहरु