विचार/ब्लग

काठमाडौंमा शिक्षकहरू

नवलपुर टुडे
२०८२ बैशाख ६ | बिहान ०७:०१ बजे

१.
कक्षा छोडेर शिक्षकहरू किन आउनु काठमाडौं
संघीय राजधानी भनेर किन गाउनु काठमाडौं 
यो सहर विश्वमा प्रदूषण नम्बर एक हुँदा
फोक्सोको बेथा निम्त्याउन किन धाउनु काठमाडौं ?

२. 
फोहोरी राजनीतिले थिलथिलो भो मुलुक
र मक्किएर भाँचिएको किलो भो मुलुक
सधैँ गन्जागोल र अस्तव्यस्तता छ यहाँ
विकासको गन्तव्यमा पुग्न ढिलो भो मुलुक ।

३.
सडकमा गइरहन्छन् जनता आत्तिएपछि
बुढाहरू ख्याल गर्दैनन् आफैँ पात्तिएपछि
जनता सधैँ निराश निराश देखिएका छन्
नेताहरू सत्ता र कुर्सीले मात्तिएपछि ।

(बूढानीलकण्ठ, काठमाडौं) 

१२खरीबाट साभार गरिएको हो ।
 

कमेन्टहरु