कपिलवस्तु पुगेर प्रचण्डले यसो भने, आफ्नो बोझ थाम्न नसकेर यो सरकार आफैँ ढल्छ


कपिलवस्तु । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफ्नो बोझ सम्हाल्न नसकेर आफैँ ढल्ने अवस्था सिर्जना हुन लागेको बताएका छन्। कपिलवस्तुको बहादुरगञ्जमा आयोजित तराई–मधेश हुलाकी जागरण अभियानको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार भ्रष्टाचारमा डुबेको, सरकारकै मन्त्रीहरू असन्तुष्ट भएको र सरकारले आफ्नो बोझ आफैं सम्हाल्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका हुन्।
उनले केही बिचौलियाहरूको चलखेलले विकास निर्माणका कार्यहरू अवरुद्ध भइरहेको बताउँदै भने, ‘देशमा विकासको गति तीव्र बनाउन बिचौलियाहरूको हस्तक्षेप रोक्न जरुरी छ।’ यो सरकार भ्रष्टाचारीहरूलाई संरक्षण दिन बनेको उनको आरोप छ। अध्यक्ष प्रचण्डले कुलमान घिसिङलगायतका योग्य व्यक्तित्वहरूलाई हटाएर सरकार गलत कार्यमा लागेको बताए। योग्य कर्मचारीहरू हटाएर भ्रष्टाचारी र आसेपासे नियुक्त गरिएको उनले आरोप लगाए।
झापाबाट सुरु गरिएको हुलाकी जागरण अभियानले माओवादी केन्द्रभित्र नयाँ ऊर्जा र उत्साह ल्याएको दाबी गर्दै उनले आफू प्रधानमन्त्री भएका बेला भारत गएपछि हुलाकी मार्ग निर्माणको मार्ग प्रशस्त भएको उल्लेख गरे। आफ्नो कार्यकालमा भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएको स्मरण गराउँदै उनले अहिले भूमाफियाहरूले राज्यको जमिन कब्जा गरी लुटतन्त्र चलाइरहेको आरोप लगाए।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रहिस शाह, पूर्वसांसद इलियास मुसलमानसहित दर्जनौँ व्यक्ति पार्टी प्रवेश गरेका माओवादी केन्द्र कपिलबस्तुका अध्यक्ष विष्णु बेलबासेले जानकारी दिए।























