अपराध, विश्व

अवैध रुपमा सञ्चालित हतियार बनाउने उद्योगमा भारतीय प्रहरीको छापा

नवलपुर टुडे
२०८२ बैशाख ५ | मध्यान्ह ०८:०१ बजे

वीरगन्ज | वीरगन्जको सिमावर्ती भारतीय शहर रक्सौल नजिकको सिरिसिया गाँउमा पोल्ट्री फार्मको आडमा अवैध रुपमा सञ्चालित हतियार बनाउने उद्योगमा भारतीय प्रहरीले छापा मारेर ठूलो परिमाणमा पेस्तोल, बन्दुक, गोली लगायतका हतियार बरामद गरेको छ । उक्त छापामारीमा चार जना पक्राउ परेका छन् ।

मोतिहारीका एसपी स्वर्ण प्रभातको आदेशमा एसडिपीओ धिरेन्द्र कुमारको नेतृत्वमा खटिएको भारतीय प्रहरीको टोलीले शुक्रबार बिहान रक्सौल र रामगढवाको बीचमा पर्ने पलनवा थान अन्तर्गत सिरिसिया गाँउमा रहेको पोल्ट्री फार्ममा छापा मारेको थियो। यस क्रममा उक्त पोल्ट्री फार्मभित्र सञ्चालित हतियार बनाउने उद्योग भेटिएको हो ।

१२ घण्टाको निरन्तर छापामारीका क्रममा उक्त हतियार उद्योगबाट विभिन्न प्रकारका हतियार र सामग्री बरामद गरिएको छ, जसमा कंट्री मेड कार्बाइन, देवी पेस्तोल, गोली, खोखा, देशी सिक्सर पेस्तोल, अर्धनिर्मित पेस्तोल बडी, म्याजिन, स्लाइडिंग, ड्रिल मेशिन र वेल्डिंग मेसीन समावेश छन् ।

भारतीय प्रहरीले हतियार उद्योगका मुख्य सञ्चालक पंकज सिंह र उनका बुबा राजेश्वर सिंहलाई नियन्त्रणमा लिएको थियो । उनीहरूले दिएको बयानका आधारमा मुगेर र छपरा खटिएको भारतीय प्रहरीको विशेष टोलीले छपराबाट अभिताभ शर्मा र मुंगेरबाट नौयर आलमलाई पनि पक्राउ गरेको छ ।

यस छापामारीमा भारतीय प्रहरीका विभिन्न टोली सदस्यहरू सक्रिय थिए, जसमा एसडीपीओ धिरेन्द्र कुमार, पलनवा थानाध्यक्ष सीता केवट, भेलाही थानाध्यक्ष शाहरुख, रामगढ़वा थानाध्यक्ष अमरजीत कुमार, र छपराको परसवा थानाध्यक्ष सुनील कुमारको प्रमुख भूमिका रहेको थियो ।

कमेन्टहरु