समाचार

माइतीघर–बानेश्वर सडक सुचारु नगरे गाडी तेर्स्याउँछौँ: यातायात महासंघ

नवलपुर टुडे
२०८२ बैशाख ५ | मध्यान्ह ०२:०१ बजे
माइतीघर–बानेश्वर सडकमा प्रदर्शन गर्दै शिक्षकहरू फाइल तस्बिर

काठमाडौं । माइतीघर–बानेश्वर सडकमा १७ दिनदेखि शिक्षक महासंघको आयोजनामा शिक्षकहरूको आन्दोलन जारी छ ।आन्दोलनका कारण सार्वजनिक यातायात अवरुद्ध भएको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराएको छ ।

महासंघले जिल्ला प्रशासन कार्यालयमार्फत अवरुद्ध सडक सुचारु गरिदिन माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ। महासंघका महासचिव भरत नेपालले बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई ज्ञापनपत्र बुझाएको बताए । उनले अबको केही दिनमै माइतीघर–बानेश्वर सडकमा गाडी चल्न नदिए सडकमै गाडी तेर्स्याउने चेतावनी दिए । 

“हामीले बिहीबार सीडीओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौँ । उहाँले गृहको जवाफ आएपछि खबर गर्छौं भन्नुभएको छ,” उनले भने, “१७ दिनदेखि यातायात मजदुर र यात्रु मर्कामा परेका छन् । यसरी सडक बन्द गर्न पाइँदैन ।” 

आइतबारसम्म सडक खुला नभए सडकमा गाडी तेर्स्याउने उनले बताए ।  “आइतबार हामी सीडीओ कार्यालय जान्छौँ । त्यसपछि पनि सडक खुलेन भने अप्रत्यासित रूपमा सडकमा गाडी तेर्स्याउँछौँ ।”

१७ दिनदेखि शिक्षकहरूले माइतीघर–बानेश्वर सडकमा मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म प्रदर्शन गर्दै आएका छन् । उक्त समयमा उक्त सडकमा सवारीसाधन चल्न पाउँदैनन् । 

realise-1744961798.jpg
 

कमेन्टहरु