कपिलवस्तुमा निर्माणाधीन एमालेको भवनबाट २ लाख ५० हजार बढीको सामग्री चोरी


निर्माण कम्पनी सनाया कन्स्ट्रक्सनका साझेदार अभिषेक पाण्डेयले १६ एमएमदेखि २० एमएमसम्मका छड, ग्राइन्डर मेसिन, तारसहित ढाई लाखभन्दा बढीको सामग्री चोरी भएको बताए। यो भवन ६२ लाखभन्दा बढीको ठेक्कामा निर्माण भइरहेको छ। पाण्डेयका अनुसार, लेबर र मिस्त्री बिदामा गएको बेला कोही नभएको मौका छोपी चोरहरूले सामग्री चोरेका हुन्। उनले भने, ‘प्रतिस्पर्धाका आधारमा ४० प्रतिशत कम लागतमा भवन निर्माणको जिम्मा लिएका थियौं, तर सामग्री चोरी हुँदा हामी समस्यामा परेका छौं।’
यसअघि १० दिन अगाडि पनि त्यही ठाउँमा चोरी भएको थियो। त्यतिबेला चोर र सामग्री फेला पारी चेतावनी दिएर छाडिएको पाण्डेयले बताए। एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले निर्माण कम्पनीले ढाई लाखभन्दा बढीको सामग्री चोरी भएको मौखिक जानकारी दिएको बताए। उनले भने, ‘रखेडीका लागि मान्छे राख्न भनेका थियौं, तर कम्पनीले आनाकानी गर्यो, जसले चोरहरूको मनोबल बढ्यो।’
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनमणि अधिकारीले भने एमाले भवनको सामग्री चोरीबारे कुनै जानकारी नभएको बताए। उनले यो विषयमा बुझ्ने बताए। यसअघि तीन महिनाअघि सिद्धार्थ टोल, घिमिरे टोल र क्याम्पस टोलमा भएको लाखौंको सुन र नगद चोरीका घटनामा पनि प्रहरीले चोर पक्राउ गर्न सकेको छैन।























