समाचार

दोलखामा ‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ

नवलपुर टुडे
२०८२ बैशाख ३ | मध्यान्ह ०१:०१ बजे

दोलखा । दोलखाको रमणीय उपत्यका जिरीको शिरमा छ, गुराँसपार्क। रगविरंगका गुराँस फूलेर पार्क ढकमक्क भएको छ। वनक्षेत्रको मध्यभागमा रहेको पार्कमा कृत्रिम पोखरीसहित पिकनिकका लागि पूर्वाधार निर्माण गरिएको छ।

समुन्द्री सतहदेखि २ हजार ७०० मिटरमा रहेको यहाँ पिकनिक, हाइकिङ, क्याम्पिङ तथा गुराँस अवलोकनका लागि आन्तरिक पर्यटक आउन थालेका छन्। पार्कसम्मै सडक सञ्जाल जोडिएको छ।

 

यही रमणीय गुराँसपार्कको प्रवद्धन गर्ने उद्देश्यसहित पर्यटन प्रवद्र्धन मञ्च नेपालले ‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ गरेको छ। बागमती प्रदेशका पूर्वसंस्कृति तथा पर्यटनमन्त्रीसमेत रहेका प्रदेश सांसद दीपेन्द्र श्रेष्ठले नयाँ वर्षको दिन सोमबार गुराँसपार्कबाट अभियानको शुभारम्भ गरेका हुन्।

नयाँ वर्षमा घुम्न आएका भरिभराउ पर्यटकबीच आयोजित शुभारम्भ कार्यक्रममा सांसद श्रेष्ठसहित जिरी नगरपालिकाका प्रमुख तथा जनप्रनिधिहरू, काठमाडौं महानगरपालिका- १ का वडा अध्यक्ष हिरालाल तण्डुकार, काठमाडौंबाट आएका पाहुना र स्थानीयको सहभागिता थियो।

Gurash park 2 scaled

जिरी नगरपालिका- ४ का जिरेल महिला समूहले सांसद श्रेष्ठलगायत पाहुना टोलीलाई गुराँसको माला र परम्परागत नृत्यमार्फत न्यानो स्वागत गरेका थिए।

गुराँसपार्क अवलोकनपछि सांसद श्रेष्ठले यहाँ पर्यटनको प्रचुर सम्भावना रहेको बताए। ‘यो जस्तो सुन्दर दृश्य भएको पर्यटकीयस्थल मैले बिरलै देखेको छु। प्रत्येक नेपाली आएर घुम्नु पर्छ भन्ने मैले लिएको छु,’ उनले भने।

सांसद श्रेष्ठको पहलमा आर्थिक वर्ष २०८१/८१ गुराँसपार्कको पूर्वाधार निर्माणका लागि १० लाख बजेट विनियोजन भएको थियो।
त्यस्तै काठमाडौं महानगरपालिका- ११ का अध्यक्ष तण्डुकारले गुराँसपार्क सौन्दर्यको दृष्टिकोणले उत्कृष्ट रहेको बताए।

काठमाडौंबाट आएका पाहुना भक्तशंकर श्रेष्ठले गुराँसपार्कलाई जिरीको मात्रै नभएर नेपालकै उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न सकिने उल्लेख गरे।

‘जाऔं है गुराँसपार्क’ अभियान युवा उद्यमी लिलाराम खड्काको सक्रियतामा ‘पर्यटन प्रर्वद्धन मञ्च, नेपाल’को ब्यानरमा आयोजना गरिएको हो। उद्यमी खड्का करिब डेढ दशकदेखि जिरी-दोलखालगायत नेपालको ग्रामीण पर्यटन विकास एवम प्रवद्धनमा क्रियाशील छन्।

यही सिलसिलाअन्तर्गत ‘जाऔं है गुराँसपार्क’ अभियानको शुभारम्भ भएको हो । यसअघि उसले ‘जाऔं है चेर्दुङ’ अभियान सुरु गरेको थियो। जिरीको शिरमा रहेको हिलस्टेसन चेर्दुङमा अहिले पर्यटकीय चहलपहल बढेको छ।

‘गुराँसपार्कमा पनि आन्तरिक र वाह्य पर्यटकलाई तान्न हामीले अभियान चलाएका हौं’, अभियानका संयोजक खड्का भन्छन्, ‘हामी विशेषतः प्रचारात्मक कार्यक्रममा जोड दिनेछौ। गुराँसपार्क र चेर्दुङको भिडियो र ब्रोसर पनि बनाउँछौं।’

जिरीबाट १०.३ किलोमिटर दूरीमा रहेको गुराँसपार्क गाडीमार्फत् ४० मिनेटमा पुग्न सकिन्छ। जिरीका होटलमा बसेर गुराँसपार्क, चेर्दुङलगायतका सम्पदा घुम्न सकिन्छ।

कमेन्टहरु