यातायात व्यवसायीले भाडा समायोजनको माग गर्दै निकाले र्याली


काठमाडौं । यातायात व्यवसायीहरुले भाडा समायोजन र कोरोनाविरुद्धको खोप सहज रूपमा पाउनुपर्ने माग गर्दै काठमाडौंमा र्याली निकालेका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको अगुवाइमा व्यवसायीहरु आन्दोलित भएका हुन् । ऊनीहरुले विभिन्न सात बुदे माग अघि सारेका छन् ।
व्यवसायीहरुले बिहीबार बिहान आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित र्याली निकालेका हुन् ।
बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको सो र्यालीले रिङरोड परिक्रमा गर्ने छ । र्यालीमा निस्किएका सवारी साधनहरुको सडकमा लामो लाइन देखिन्छ । साना–ठूला सार्वजनिक गाडीहरु एकसाथ रिङरोडमा निस्किंदा ट्राफिक जामको समस्या पनि देखिएको छ ।
यातायात व्यवसायी सबैले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, कोभिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, यातायातको बिमा छुट, नवीकरण र जरिवाना छुट गर्न लगायतका माग राखेका छन् ।






















