जसपाले उठाएको माग सम्बोधन गरे ठाकुर पक्ष सरकारमा जान तयार


काठमाडौं । जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा जान तयार देखिएको छ। ठाकुर पक्षका नेताहरूले मन्त्रालय बाँडफाँटको विषयमा सत्तारूढ गठबन्धनसँग छलफल हुन भने बाँकी रहेको बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवासँग जसपा अध्यक्ष महन्थ ठाकुरले बुधबार भेटवार्ता गरेका थिए। भेटमा प्रधानमन्त्री देउवाले ठाकुरलाई सरकारमा आउन आग्रह गरेको ठाकुरनिकट नेता शरत्सिंह भण्डारीले बताए। भण्डारीका अनुसार भेटमा ठाकुरले जसपाले उठाउँदै आएका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए।
जसपाले सरकारसँग मधेस आन्दोलनका क्रममा लगाइएको झुटो मुद्दा फिर्ता गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, नागरिकता विधेयक पास गर्ने तथा निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने माग अघि सारेको छ।
भण्डारीका अनुसार देउवाले विश्वासको मत दिएर सहयोग गरेको चर्चा गर्दै सरकारमै सहयात्राका लागि प्रस्ताव गरेका थिए। ‘हाम्रो चासो हाम्रा माग र मुद्दा हुन् तिनको सम्बोधन भए हामी सरकारमा जान सक्छौं,’ भण्डारीले भने। प्रधानमन्त्री देउवासँगको भेटपछि सरकारमा जान पार्टी सकारात्मक भएको पनि उनले बताए।
मन्त्रालय बाँडफाँट र पावर सेयरिङबारे भने देउवासँग कुनै छलफल नभएको भण्डारीले बताए। ‘हामी सरकारमा जान सकारात्मक भएका मात्र हौं। मन्त्रालय बाँडफाँटबारे कुनै कुराकानी भएको छैन,’। स्रोतका अनुसार ठाकुर पक्ष सम्मानजनक हैसियत प्राप्त भए सरकारमा जानेछ।






















