नेपाल पक्षको प्रतिक्रिया : स्पष्टीकरण सोध्नु एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको


काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताको वार्ता चलिरहेका बेला स्पष्टीकरण सोध्नु एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको जनाएको छ।
नेपाल पक्षमा रहेका स्थायी कमिटी सदस्यको बैठकले एकताको प्रक्रिया चलिरहेका बेला स्पष्टीकरण सोध्नु गलत भएको निष्कर्ष निकालेको हो। उनीहरुले एकता विरोधी यस्ता कार्य तत्काल रोक्न पनि आग्रह गरेका छन्।
स्थायी कमिटी सदस्य रघुजी पन्तले ‘अदालतको फैसलाले प्रष्ट रूपमा धारा ७६(५) मा सांसदलाई विवेक प्रयोग गर्ने अधिकार दिइसकेपछि त्यसलाई आधार बनाएर अरू निहुँ झिकेर स्पष्टीकरण सोध्नु राम्रो नभएको ’ बताए ।
नेता पन्तले एकताको प्रक्रिया चलिरहेको बेला नेपालसहितका नेताहरुविरुद्ध भइरहेको नाराबाजीदेखि पुत्ला जलाउने क्रियाकलाप तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अघि बढाउन अध्यक्ष ओलीको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताए।
पन्तले ‘एकताको वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारा जुलुस गर्ने एवम् पुत्ला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैैसला आत्मसात गर्दै आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरु विरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने कामहरु तत्काल रोक्नुपर्ने ’ बताए ल
उनले भने, ‘यस्ता गलत र उत्तेजक काम कारबाही विरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अघि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको गम्भीर ध्यानाकर्षण गराउँछ।’






















