कृषि, धर्म–संस्कृति/रीतिथिति, मनोरन्जन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

नयाँ वर्षको अवसरमा कृषि पर्यटन तथा संस्कृति महोत्सव कोल्टी हुने

उमेश रोकाया
२०८१ चैत्र २२ | मध्यान्ह ०७:१२ बजे

बाजुरा , चैत २२ । सुदूरपश्चिमको काखमा अवस्थित बाजुरा जिल्लाको कुन्ना क्षेत्र अब मौनताबाट उठ्दैछ । संस्कृति, परम्परा र सौन्दर्यको अनुपम मिसावट बोकेको कोल्टीमा पहिलोपटक एउटा ऐतिहासिक क्षणको साक्षी बन्न लागेको छ – कृषि पर्यटन तथा सास्कृतिक महोत्सव नयाँ वर्षको अवसर पारेर मालश्री स्टुडियोको आयोजना र बुढिनन्दा नगरपालिकाको सहआयोजनामा महोत्सव हुँदैछ ।

नयाँ बर्षको अबसर पारेर बैशाख ३ गते महोत्सव आयोजना हुने भएको हो । शुक्रवार दिउँसो बुढिनन्दा नगरपालिकामा आयोजक र सरोकारवाला बिच छलफलले निष्कर्ष निकालेको हो ।यो महोत्सवले कोल्टीलाई मात्र होइन, सम्पूर्ण बाजुरालाई एउटा नयाँ परिचय दिने छ।

मालश्री स्टुडियोका सञ्चालक बिनोद बाजुरालीका अनुसार, “यो महोत्सव केवल रमाइलोको लागि होइन, हामीले यस्ता कार्यक्रममार्फत हाम्रो मौलिकता, हाम्रा लुकेका कला, संस्कृति र रैथाने बालीलाई देश–विदेशमा चिनाउने लक्ष्य लिएका छौं ।”

यो महोत्सवले यहाँका युवा प्रतिभालाई आफ्नो कला देखाउने मंच दिने छ । हुड्केली, मागल, सेलो जस्ता परम्परागत गीतहरू अब स्टेजमा गुञ्जिनेछन्, जहाँ हरेक लयसँग इतिहासको आवाज मिसिएको हुनेछ । र, यी लयहरू शहर तिरका दर्शकका कानसम्म पुग्नेछन्, जहाँबाट बाजुराको सुगन्ध लिएर फर्किनेछन् नयाँ सम्भावनाहरू।

नगर प्रमुख जनक कुमार बोहराले उत्साहित हुँदै भन्नुभयो। “कोल्टीमा पहिलोपटक यस्तो महोत्सव हुनु आफैँमा गर्वको कुरा हो । हाम्रा संस्कार, भाषा, पोशाक र खानपानलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने हाम्रो सपना यसमार्फत साकार हुँदैछ ।” उहाँका अनुसार महोत्सवले सृजनात्मक प्रतिभालाई सम्मान गर्नेछ, र त्यसैबाट आर्थिक उन्नतिका ढोका पनि खुल्ने उहाँले बताउनुभयो ।

महोत्सवमा राडी पाखि, स्थानिय रैथाने उत्पादन, अर्गानिक कृषि सामग्री र विभिन्न संस्कारका झल्कोहरू प्रदर्शन गरिने नगर प्रबक्ता जंगबिर रोकाया बताउनुहुन्छ। बर्सौंदेखि पुस्तौंदेखि जोगाइएका संस्कारहरू पहिलोपटक व्यावसायिक र सांस्कृतिक उज्यालोको पर्दामा देखिने उहाँको भनाई छ ।

बाजुराको हिउँ छुन सक्ने पहाडबाट भर्खरै झरेको खोला जस्तै शुद्ध भावना, र झन्डै विस्मृत हुन लागेका मौलिक गीत–संगीत, रीतिथिति र जीवनशैलीलाई यो महोत्सवले पुनर्जीवन दिने प्रबक्ता रोकाया बताउनुहुन्छ । जहाँ गाउँलेको मुस्कानमा सिंगो क्षेत्रको भविष्य झल्किने छ ।

यो महोत्सव केवल तीन दिनको रमाइलो होइन, पुर्खाको ईतिहास बन्ने छ । जहाँ संस्कृति केवल देखाउने चीज होइन, बाँच्ने बाटो हो भन्ने अनुभूति गराइनेछ। कला देखाउने मञ्च मात्र होइन, सिङ्गो पहिचान र माया बाँड्ने ठाउँ बन्नेछ कोल्टीको माटो। यस अघि कोल्टीमा कहिल्यै पनि महोत्सव संचालन भएनन् अब कुन्ना क्षेत्रका कला, गला, संस्कार र संस्कृतिहरु नसोचेको ठाउँ, एक सुस्ताएको कुन्ना क्षेत्र महोत्सबले नयाँ तरङ्ग दिने छ । गीतसङ्गीत, परम्परा र गर्वको एउटा नयाँ स्वर लिएर। कोल्टी अब बोल्दैछ, नाच्दैछ, र आफ्नो अस्तित्वलाई संसारभरी चिनाउने संकल्प गर्दैछ ।

कमेन्टहरु