बालिका अपहरण गर्ने जितेन्द्र २४ घण्टा नबित्दै प्रहरीको फन्दामा

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलबाट बुधबार दिउँसो अपहरणमा परेकी ७ वर्षीया बालिकाको सकुशल उद्धार गरिएको छ । प्रहरीले बिहीबार दिउँसो सप्तकोशी नदीको २६ नम्बर ढोकाबाट अपहरणमा परेकी ७ वर्षीया बालिकाको सकुशल उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार ती बालिका बुधबार दिउँसो साढे १ बजे आफ्नै घरबाट अपहरणमा परेकी थिइन् ।घरबाटै बालिका अपहरणमा परेको सूचना पाएसँगै खोजी सुरु गरिएको र बिहीबार दिउँसो सप्तकोशी नदीको २६ नम्बर ढोकाबाट आरोपीलाई समेत पक्राउ गर्न सफल भएको डीएसपी खतिवडाले बताए ।
पक्राउ पर्नेमा सप्तरी कञ्चननरूप नगरपालिका–१२ धरमपुरका ३१ वषीय जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) रहेको उनले बताए ।बुधबार करिब २ बजे बालिका अपहरणमा परेको जानकारी आफूहरूले पाएको र खोजी गर्ने क्रममा बिहीबार दिउँसो कोशी पुलमा बालिका सहित जितेन्द्रलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए । डीएसपी खतिवडाका अनुसार बालिकालाई अपहरण गर्नुको कारण जितेन्द्रले खुलाएका छैनन् ।‘कोशी पुलको सप्तरी खण्डमा भटिएपछि कार्यालय ल्याएका छौं, थप सोधपुछ भएको छैन,’ डीएसपी खतिवडाले भने,‘ अनुसन्धानपछि थप विषय खुल्छ ।’कोशी गाउँपालिका– ७ का अध्यक्ष लालदेव सदाका अनुसार बालिकालाई सिटी सफारीमा लिएर जाने व्यक्ति बेलाबेला गाउँमा आँउथे । घरमा कोही नभएको मौकामा बुधबार दिउँसो बालिकालाई लिएर गएको देखिएको उनले बताए ।
‘हिजो राति राजविराजमा लगेर राखेको भन्ने छ ,’ उनले भने, ‘किन लग्यो भन्ने जानकारी छैन, मान्छे समातियो ।’ उनका अनुसार बालिकाको घर र बालिका भेटिएको स्थान करिब ९ किलामिटर पश्चिममा पर्छ । बालिकालाई अपहरण गरी भारत पुर्याएको आशंकामा प्रहरीले भारतीय प्रहरीसँग पनि समन्वय गरेर खोजी सुरु गरेको थियो । तर, सीसी क्यामेरा अध्ययन गर्दा कोशी पुलमा शंकास्पद अवस्थामा भेटिएपछि प्रहरीले साहलाई पक्राउ गरी बालिकाको उद्धार गरेको हो ।























