चैती छठमा पनि सिर्सिया नदी सफा नहुँदा व्रतालु निराश


वीरगञ्ज । मधेसको महत्त्वपूर्ण पर्व चैती छठको अवसरमा वीरगञ्जस्थित सरिसवा (सिर्सिया) नदीको प्रदूषणले व्रतालु र स्थानीयवासीमा निराशा छाएको छ । कार्तिकमा हुने छठ पूजाको समयमा नदी केही हदसम्म सफा हुने गरे पनि चैती छठको समयमा भने नदी पूर्ण रूपमा प्रदूषित र दुर्गन्धित बनेको छ । फलस्वरूप, धेरै व्रतालुले नदीमा अर्घ्य दिन जान छाडेर घरमै कृत्रिम कुण्ड बनाएर पूजा गर्न बाध्य हुने भएका छन् ।
सिर्सिया नदीको दुर्गन्ध र दूषित पानीका कारण व्रतालुहरूले परम्परागत रूपमा घाटमा गएर अर्घ्य दिने चलन छाड्नु पर्ने अवस्था आएको छ । स्थानीय व्रतालु जमुनिया देवीले दुई दशकअघि नदीको पानी सफा र निर्मल भएको स्मरण गरिन् । उनले भनिन्, “मैले छठ व्रत सुरु गर्दा यही नदीमा पसेर पूजा गरेको थिएँ, तर आज दुर्गन्ध र प्रदूषणले पाँच सय मिटर परैबाट मनै अमिलो हुन्छ । यस पटक घरमै कृत्रिम कुण्ड बनाएर पूजा गर्ने सोच बनाएको छु ।”
गत वर्ष पनि नदीको अवस्था उस्तै भएपछि स्थानीयले घाट छेउमा कृत्रिम कुण्ड बनाएका थिए । यस वर्ष पनि यस्तै योजना रहेको रानीघाट मठका पूर्व अध्यक्ष विकास साहले बताए । छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष रञ्जन सिंह राजपूतले नदी प्रदूषणको मुख्य कारण उद्योगहरूले सोझै मिसाउने केमिकलयुक्त फोहोर पानी भएको बताए । उनले स्थानीय नेतृत्वकर्ता, जनप्रतिनिधि, वीरगञ्ज महानगरपालिका र वातावरण विभागले चासो नदिएको गुनासो गरे ।“उद्योगीहरूसँग जनप्रतिनिधि, सांसद र मन्त्रीहरूले आर्थिक लाभ लिने गरेका कारण नदीको यो हालत भएको हो,” उनले आरोप लगाए ।
त्यस्तै, स्थानीय प्रदीप सर्राफले सिर्सिया नदीलाई नेताहरूले राजनीतिक रोटी सेक्ने माध्यम बनाएको भन्दै आक्रोश व्यक्त गरे । “चुनावमा नदी सफा गर्छु भन्ने आश्वासन दिन्छन्, तर काम शून्य हुन्छ,” उनले भने । पर्सा जिल्लामा तीन सङ्घीय र दुई प्रदेश मन्त्री हुँदा पनि यो मुद्दा प्रभावकारी रूपमा नउठेको उनको भनाइ छ ।
वीरगञ्ज महानगरपालिकाका वातावरण अधिकृत प्रकाश ऐरीले नदी प्रदूषणको मुख्य स्रोत बाराको जितपुरसिमरा उपमहानगरपालिका र परवानीपुर गाउँपालिकाका उद्योगहरू भएको बताए । उनका अनुसार, वीरगञ्जका उद्योगहरूले वाटर ट्रीटमेन्ट प्लान्ट जडान गरेर वा वैकल्पिक उपाय अपनाएर दूषित पानी प्रशोधन गरे पनि बाराका कपडा, तेल र वनस्पति घिउ उद्योगहरूले लापरबाही गरिरहेका छन् । “हाम्रो अधिकार क्षेत्र बारासम्म पुग्दैन, त्यहाँ अनुगमन गर्न सकिँदैन,” उनले भने । यद्यपि, महानगर प्रमुख राजेशमान सिंहले बाराको प्रशासन र स्थानीय तहसँग छलफल गरेर समाधान खोज्ने प्रयास गरिरहेको उनले बताए । सङ्घीय र प्रदेश सरकारबाट पनि अपेक्षित सहयोग नपाएको उनको गुनासो छ ।
नदीको प्रदूषणले छठ पर्वको धार्मिक र सांस्कृतिक महत्त्वमाथि नै प्रश्न उठ्न थालेको छ । विकास साहले अब सशक्त आन्दोलनको तयारी रहेको चेतावनी दिए । “सिर्सिया नदी हाम्रो जीवन र आस्थाको आधार हो, यसलाई प्रदूषणमुक्त बनाउन हामीले कडा कदम चाल्नेछौँ,” उनले भने । स्थानीयले विगतमा पटक–पटक उठाएका आवाज र महानगरले चलाएका अभियान प्रभावकारी नभएपछि आन्दोलन नै अन्तिम विकल्प बन्ने देखिएको छ ।
कुनै बेला स्वच्छ र निर्मल बग्ने सिर्सिया नदी आज उद्योगहरूको फोहोरले मृत प्रायः बनेको छ । नदीको प्रदूषणले मधेसको सांस्कृतिक पहिचान र छठ पर्वको परम्परालाई समेत चुनौती दिएको छ । सरोकारवाला निकायको उदासीनता र उद्योगहरूको लापरबाहीले नदीको अवस्था सुध्रिनुको साटो झन् बिग्रिँदै गएको छ । अब समस्या समाधानका लागि स्थानीय, प्रशासन र सरकारबिच ठोस सहकार्य र कडा कदमको आवश्यकता रहेको स्थानीयको माग छ ।























