झलनाथ खनाललाई आवश्यक परे उपचार खर्च जुटाउन तयार छौं, राज्यकोषबाट व्यहोर्नु गैरकानुनी हो : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको भारतमा गरिएको उपचार खर्च राज्यकोषबाट व्यहोर्नु गैरकानुनी हुने बताएका छन् ।
उनले खनालको उपचारका लागि आर्थिक सहायता आवश्यक परे उपचार खर्च जुटाउन सहयोग गर्ने बताएका छन् । थापाले ०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपरेमा सरकारबाट खर्च उपलब्ध नगराइने व्यवस्था रहेको भन्दै नेता थापाले अघिल्लो सरकारको कानुन विपरीत काम गरेको बताएका छन् ।
उनले ‘यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन । कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छु भनेका छन् ।
थापाले पूर्वप्रधानमन्त्री खनालको नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान रहेको र पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएकाले उनको कद बढेको बताएका छन् ।
‘झलनाथ खनाल समेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसदमा सँगै काम गर्न हामी प्रतीक्षारत छौं । मलाई विश्वास छ हाम्रो चाहना छिटै पूरा हुनेछ,’ उनले भनेका छन् ।
खनालको उपचारको लागि परिवार, स्वजन र उनको पार्टी पङ्क्ति लागिरहेको भन्दै थापाले उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार रहेको उल्लेख गरेका छन् ।
‘यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ,’ थापाले भनेका छन् ।






















