आज ८ लाख डोज खोप लिन वायुसेवा निगमको जहाज चीन जाने तयारीमा


काठमाडौं । चीनबाट खरिद प्रक्रियाअन्तर्गत थप खोप लिन बुधवार वायु सेवा निगमको जहाज चीन जाने तयारीमा रहेको छ।
स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार दोस्रो चरणमा पनि ८ लाख डोज नै खोप ल्याइनेछ। महाशाखाका प्रशासन प्रमुख उपेन्द्र ढुंगानाले जहाजको क्षमता र नेपालमा खोप कार्यक्रम सञ्चालन गर्ने क्षमता अनुसार पुन ८ लाख खोप लिन लागेको बताए।
यसै साताभित्रै थप ८ लाख डोज लिन जहाज चीन जाने महाशाखाको भनाइ छ र दुईपटक गरी यही साताभित्र थप १६ लाख खोप नेपाल आइपुग्ने प्रमुख ढुंगानाको भनाइ रहेको छ। चीनबाट आएका खोपहरू अहिले अभियान सञ्चालन हुन नसकेको प्रदेशहरू प्रदेश एक, सुदूरपश्चिम प्रदेश र कर्णालीमा पठाइनेछ।
यसअघि खोप अभियान सञ्चालन हुन नसकेको प्रदेशमा पठाउने र अर्को चरणमा आएको खोप पुनः प्राथमिकताको आधारमा खोप अभियान सञ्चालन हुने परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक शर्माले बताए।
आपूर्ति महाशाखाका अनुसार आगामी अगस्तको पहिलो साता अर्थात् दुई साताभित्र जापानले कोभ्याक्स सुविधाअन्तर्गत दिने भनेको १६ लाख अष्ट्राजेनिकाको खोप दिने सम्भावना छ। चीनले बाँकी रहेको खोप चरणबद्ध रुपमा दिने महाशाखाले जनाएको छ।























