पूर्वराजा ज्ञानेन्द्र शाहका १० सुरक्षाकर्मी कटौती


काठमाडौँ, चैत १६ । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाकर्मी कटौती गरिएको छ। सशस्त्र प्रहरीले राति ११ः३० बजे पूर्व राजाका १० जना सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको हो।
डिएसपीको कमाण्डमा रहेका सशस्त्र प्रहरीको २५ जनाको टोलीमध्ये १० जनालाई हटाएर १५ जना कायम गरिएको छ। ‘केही दिनमा अर्को निर्णय हुने छ,’ सशस्त्र प्रहरीका एक उच्च अधिकारीले भने। सरकारले पूर्व राष्ट्रप्रमुखको हैसियतमा दिएको सबै सुविधालाई कटौती गर्ने तयारी गरेको बेला सशस्त्र प्रहरीको टोली कम गरिएको छ।
नारायणहिटी राजदरबारबाट हटेपछि पूर्व राजपरिवारलाई नेपाल सरकारले आवाससहितको सुविधा दिइरहेको छ। पूर्व राजपरिवारले प्रयोग गर्दै आएको नागार्जुन दरबार नेपाल सरकारले आवास सुविधा अन्तर्गत उपलब्ध गराएको हो। निर्मल निवास भने पूर्व राजा ज्ञानेन्द्रको निजी निवास हो।
पूर्व राजपरिवारका सबै सदस्यहरूको सुरक्षाका लागि भन्दै सरकारले सशस्त्र प्रहरीका १ सय ५५ जना सुरक्षाकर्मी खटाएको थियो। यस्तै इन्धनसहित तीनवटा सवारी साधनसमेत उपलब्ध गराउँदै आएको छ। ती मध्ये सशस्त्र २५ जना ज्ञानेन्द्रको सुरक्षाका लागि खटिएका थिए।























