देश

बकर इदको सुभकामना दिदै स्वास्थ्य मापदण्ड अपनाएर मनाउन प्रधानमन्त्रीको आग्रह

जगत ठाडा मगर
२०७८ साउन ६ | बिहान ०८:०४ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान चार्ड इद उल अज्हा (बकर इद) को अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

देउवाले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति र भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा छरिएर रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गरेका हुन् ।

कोभिड-१९ को महामारीका कारण हाम्रा सामाजिक र सांस्कृतिक धरोहरका यस्ता पर्वहरू सबैले सँगै बसेर हर्षोल्लासका साथ मनाउन कठिनाइ भइरहेकाले प्रधानमन्त्री देउवाले कोभिड-१९ को प्रभाव नपरोस् भनी स्वास्थ्यका मापदण्डको पालना गर्दै इद पर्वलाई सजगताका साथ मनाउन सबैमा अनुरोध गरेका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र भेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावारणलाई अझ मजबुत बनाउन सहयोग गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले पनि शुभकामना सन्देश जारी गरेका छन् । नेपाल जस्तो बहुधार्मिक तथा बहुसांस्कृतिक देशका लागि यस्ता पर्वहरू आफैंमा निधि भएको भन्दै नेता नेपालले यसले पारस्परिक सम्मान, मेलमिलाप, भ्रातृत्व र सामाजिक सदभावको विकास गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

कमेन्टहरु