समाचार

विजयनगरम खानेपानीकाे बैठक :  खानेपानी आयाेजना दर्ता गर्ने र पुनः सुचारुमा जाेड

धर्मेन्द्र कुमार कुर्मी
२०८१ चैत्र १४ | बिहान ०६:१२ बजे

कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा खानेपानीकाे अवस्थाकाे बारेमा पालिकामा सञ्चालित खानेपानी आयाेजनाका प्रतिनिधिहरु बिच छलफल गरिएको छ । खानेपानी आयाेजना, नव निर्माणाधीन खानेपानी र विविध प्राविधिक कारणले केही समय बन्द भएका आयाेजनालाई पुनः सुचारु गर्ने र नियमित गर्ने विषयमा पालिका स्तरीय बैठक गरिएको वास संयाेजक अर्जुन कुमार बेल्बासेले जानकारी दिए ।

बुधबार बसेकाे बैठकले गाउँपालिकाभित्र रहेका खानेपानी आयाेजनाहरुकाे विधान तयार पारेर गाउँपालिकामा दर्ताका लागि प्रक्रिया अगाडी बढाउने जनाएको छ । निकट भविष्यमा समितिकाे विधानकाे तयारी र विधानकाे प्रावधानका लागि १ दिने अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरिएको छ । यस्तै पालिका स्तरीय सबै खानेपानी याेजनाका प्रतिनिधिहरुकाे बैठक चाैमासिक रुपमा बस्ने र प्रगति समिक्षा गर्ने आजकाे बैठकले निर्णय गरेकाे वास संयाेजक बेल्बासेले बताए ।

बैठकमा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले खानेपानी आयाेजनालाई नियमित रुपमा सञ्चालनका लागि खानेपानी आयाेजनाका प्रतिनिधिहरुले सम्बन्धित निकायमा पहल गर्नुपर्ने बताइन् । उनले खानेपानी अवस्थाकाे बारेमा नियमित बैठक बसेर समीक्षा गर्दै समस्या भएका खानेपानी आयाेजनालाई पूर्ण रूपमा सुचारु गर्नुपर्नेमा जाेड दिइन् । मर्मतसम्भारका लागि आवश्यक बजेटकाे माग गर्दै अगाडी बढ्न सबैलाई उनलेे अनुरोध समेत गरिन् ।

यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले दर्ता नभएका खानेपानी आयाेजनालाई छिटै दर्ता प्रक्रियामा ल्याउनुपर्नेमा जाेेड दिए । दर्ता नभएपछि आयाेजनाकाे काममा लगानी गर्न नसकिने भएकाे हुँदा खानेपानी आयाेजना सञ्चालन प्रक्रियामा समस्या सिर्जना हुने बताउँदै खानेपानी सुचारुका लागि समस्याको पहिचान गरि आवश्यक पलमा सबैले लाग्नुपर्ने उनले बताए ।

खानेपानी बैठकमा ५ का वडा अध्यक्ष अनवर माेहम्मद मुसलमान खानेपानी आयाेजनाका प्रतिनिधिहरुकाे सहभागीता थियोे ।

कमेन्टहरु