यहाँका किसानका अनुसार विगत चार वर्षदेखि कटहरका बोट सुक्न थालेका छन्। यो अवधिमा करिब एक हजार २०० कटहरका बोट सुकिसकेको स्थानीय ज्ञानमणि नेपालले बताए। ‘चार वर्षदेखि कटहरका रूख सुक्न थालेपछि किसान निकै चिन्तित छन्, अहिले उनीहरू उपचारको खोजीमा छन्,’ उनले भने।
मण्डनदेउपुरको ज्वानेटार, जोगीटार, कान्तिटार, श्रीचौर र ज्याम्दीलगायतका क्षेत्रमा सयौँ कटहरका बोट सुकिसकेका छन्। तरकारी र खाद्यान्नसँगै कटहरलाई आम्दानीको प्रमुख स्रोत मान्ने यहाँका किसान निराश बनेका छन्। ‘कटहरका रूख किन सुक्दै, मर्दै छन् भन्नेमा किसान अनविज्ञ छन्। सुक्नुको कारण पनि कतैबाट पत्ता लागेको छैन। याममा एउटै बोटबाट १० हजारदेखि २५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेकोमा अहिले आम्दानी शून्यजस्तै भएको छ,’ नेपालले बताए।
किसान पशुपति श्रेष्ठका बारी र कान्लामा केही वर्षअघिसम्म एक दर्जनभन्दा बढी कटहरका रूख थिए। तीमध्ये अहिले आठ सुकिसकेका छन्। बर्सेनि ४० हजार रुपैयाँको कटहर बेच्दै आएका उनी अहिले बेच्नै नपाउने अवस्थामा पुगेका छन्। ‘अलिअलि फलिरहेका छन्, तर बाँकी बोट पनि कहिले सुक्ने हुन्, अब त रूख काटेर बाल्नुपर्ने अवस्था आउन थाल्यो,’ श्रेष्ठले भने।
एउटै बोटमा तीन सयदेखि चार सय कटहर फल्ने गरेकामा अहिले एक सय ५० वटा पनि फल्न मुस्किल भएको छ। कटहरका रूख सुक्न थालेपछि किसानले यसबारे अध्ययनको माग गरेका छन्। यो क्षेत्रमा करिब दुई हजार कटहरका रूख छन्। यो समस्या कृषि विज्ञका लागि चुनौती बनेको चण्डेनीमण्डनका सामाजिक अगुवा अध्यक्ष हरिप्रसाद नेपालले बताए। ‘कृषि विज्ञको टोलीले अनुसन्धान गरिरहेको छ। रुखको जरामा ढुसी परेकाले सुकेको प्रारम्भिक प्रतिवेदन आएको सुनिएको छ,’ उनले भने।
जिल्ला कृषि विकास कार्यालय धुलिखेलको अनुसन्धानले कटहरको जरामा ढुसी र किराको प्रकोप देखिएको जनाएको छ। ‘तर यो नै रोग हो भनेर अझै प्रमाणित भएको छैन, थप अनुसन्धान आवश्यक छ,’ कृषि अधिकृत रमा कार्कीले भने।
























