बिराटनगरमा रोकि राखेको मोटरसाइकल माथी मृत अवस्थामा एक जनाको शव फेला


विराटनगर । बिराटनगर -५ बिजुली अफिस अगाडि मोटरसाइकलमा मृत अवस्थामा एक जनाको शव फेला परेको छ । कोशी राजमार्गको बिजुली अफिस सडक खण्डमा मोटरसाइकलमाथि सुदर्शन न्यौपानेको शव फेला परेको हो ।
प्रहरी कार्यालय विराटनगर वडाका डीएसपी दीपक कार्कीका अनुसार हिजो साँझ ९ बजे को ४ प २३१६ नम्बरको मोटरसाइकलमा विराटनगर–५ मुनालपथका ४८ वर्षीय न्यौपाने मृत अवस्थामा भेटिएका हुन्। डीएसपी कार्कीले शवको पहिचान भइसकेको र घटनाको बारेमा थप अनुसन्धान अघि बढाइएको बताए ।
मृतकको आफन्तले भने न्यौपानेको हत्याको आशङ्का गरेका छन् । मृतकका भतिजा सन्तोष न्यौपानेले कसैले दुर्घटना गराएर मोटरसाइकल माथि राखिदिएको हुनसक्ने आशङ्का गरे ।
शरिरमा चोटपटक देखिएको छ । उनको कपडा च्यातिएको अवस्था छ । दाहिने हातमा चोट र रगतको टाटा देखिन्छ । पेन्ट पनि च्यातिएको अवस्थामा भएकाले हत्या भएको हुनसक्ने सन्तोषले बताए । यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।























