एकीकृत समाजवादीले आन्दोलनका कार्यक्रम सार्वजनिक


काठमाडौँ । एकीकृत समाजवादीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत समाजवादीले चरणबद्ध आन्दोलनका कार्यक्रम अघि सारेको हो।
राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड घटाउबाट मुक्त गर्न आन्दोलन थालिएको महासचिव घनश्याम भुसालले बताए।उनका अनुसार आन्दोलनका कार्यक्रमबारे चैत्र २–६ गतेसम्म मातहत कमिटीहरुमा छलफल गर्ने भएको छ। त्यस्तै चैत्र ७–१५ सम्म केन्द्रिय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरुसँग संवाद तथा सुझाव संकलन गर्ने, चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम समाजवादीले अघि सारेको छ।
चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने, वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने कार्यक्रम रहेको भुसालले बताए।
वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन गर्ने र वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने र वैशाख २५ गते दोश्रो चरणको कार्यक्रम सार्वजनिक आन्दोलनको कार्यक्रम गर्ने घोषणा समाजवादीले जनाएको छ।
अभियान बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी भएको र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरुका बीच सहकार्य र एकताको अभियान भएको महासचिव भुसालले बताए।
समाजवादीले सत्ता गठबन्धनले देशको आर्थिक समस्या समाधान गर्न नसकेको दाबी गरेको छ।
भुसालले सत्ता गठबन्धनले नालायकीपनबारे जनतालाई सुचित गर्न जरुरी भइसकेको बताए। रोजगारी र सुशासन राज्यको मुद्दा नबनुन्जेलसम्म आन्दोलन जारी रहने जिकिर गरेको छ ।























