उपप्रधानमन्त्री पदमा कांग्रेसका वरिष्ठ नेता पौडेल समूहको दावी


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरकारमा उपप्रधानमन्त्री पद आफ्नो समूहबाट पाउनुपर्ने दावी गरेको छ ।
प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएको भोलिपल्टै महाराजगञ्ज स्थित महामन्त्री डा. शशांक कोइराला निवासमा भएको पौडेल पक्षको बैठकमा नेताहरुले पार्टी भित्रको शक्ति सन्तुलनका लागि उपप्रधानमन्त्री आफ्नो समूहले पाउनुपर्ने धारणा राखेका थिए ।
‘एकातिर गठबन्धन सरकार छ, त्यसलाई पनि सन्तुलनमा राख्न आवश्यक छ,’ बैठकमा सहभागी एक नेताले भने, पार्टीभित्र पनि सन्तुलन कायम राख्न प्रधानमन्त्रीपछिको दोस्रो पद हाम्रो समूहले पाउनुपर्छ भन्ने धारणा सबैको थियो ।’
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन सरकारलाई सफल बनाउनु पर्नेमा बैठकले जोड दिएको बताए । उनले ‘मुलुक अहिले संकटबाट गुज्रिरहेका बेला त्यसलाई निकास दिन कांग्रेसको काँधमा ऐतिहासिक जिम्मेवारी आएको र यसलाई सफल बनाउन एकीकृत प्रयासको आवश्यकता छ भनेका छन् ।
केसीले सरकारमा को सहभागी हुन्छ भन्ने भन्दा पनि संविधान र लोकतन्त्रको रक्षाका लागि सरकार टिकाउन आवश्यक हुन्छ, गठबन्धन जोगाउन जरुरी रहेको बताए ।
क्रियाशील सदस्यता छानविनका बारेमा पनि नेताहरुबीच छलफल भएको थियो । सदस्यता छानविन समितिमा रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिलेसम्म भएको सम्पूर्ण गतिविधिका बारेमा नेताहरुलाई जानकारी गराएका थिए ।
महाधिवेशनका लागि समय कम भएकाले क्रियाशील सदस्यताको विवाद चाँडो टुंगो लगाउनुपर्ने पौडेल समूहको निश्कर्ष छ । ‘हामीसँग समयावधि कम छ, सीमित समयमा महाधिवेशन गर्नैपर्ने बाध्यता छ । अर्काे उपाय छैन,’ नेता केसीले भने, तोकिएको समयमै महाधिवेशन कसरी गर्न सकिन्छ भन्नेबारे हामीबीच छलफल भयो ।’
बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. रामशरणा महत लगायत उपस्थित भएका थिए । कांग्रेस महाधिवेशन भदौ १६–१९ सम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका तय भइसकेको छ ।






















