घटना

दाङमा विद्यालय व्यवस्थापन समिति गठनमा विवाद हुँदा झडप

नवलपुर टुडे
२०८१ फाल्गुन २९ | बिहान १०:११ बजे

दाङ। दाङमा विद्यालय व्यवस्थापन समिति गठनकाे बिषयमा विवाद हुँदा झडप भएको छ । घोराही उपमहानगरपालिका-१४, नयाँबजारस्थित शुभप्रभात माविमा बिद्यालय व्यवस्थापन समिति गठनका बिषयमा विवाद् हुँदा झडप भएको हाे ।

झडपका क्रममा प्रधानाध्यापक रुद्र बुढामाथि पनि कुटपिट भएको छ । बिद्यालय व्यवस्थापन समिति गठनका लागि बुधबार तेस्रोपटक बोलाएको भेलामा विवाद् भएपछि झडपको स्थिती सिर्जना भएको हो ।

गणपूरक संख्या नपुगेका कारण व्यवस्थापन समिति गठनको माइन्युट गर्न नमान्दा आफूमाथि कुटपिट भएको बुढाले बताए । पहिलो भेलामा १ सय २८ र दोस्रो भेलामा ४८ अभिभावक उपस्थित भएपनि गणपुरक संख्या १ सय ८६ नपुगेपछि बुधबार तेस्रोपटक भेला बोलाएको उनले बताए ।

बुधबारको भेलामा पनि १ सय २३ जना मात्रै अभिभावक भेला भएको र ५१ प्रतिशत गणपुरक संख्या नपुगेको बुढाले बताए । `गणपुरक संख्या नपुगेको अबस्थामा व्यवस्थापन समिति गठन गर्न नसकिने बताएपछि ममाथि कुटपिट भयो,´उनले भने,`अब चौथो पटक भेला गरौं भन्दा अहिले नै गठन गर्नुपर्छ भन्ने दवाव दिई मलाई कुटियो ।´

बिद्यालयमा व्यवस्थापन समिति गठनमा सँधै विवाद हुने गरेको र यसअघिको व्यवस्थापन समिति पनि पाँचौंपटकको भेलाबाट मात्रै गठन गरिएको बुढाले बताए । कुटपिटमा १४ नं. वडा अध्यक्ष भानसिंह बुढा र उनका सहयोगीहरू संलग्न रहेको बुढाले आरोप लगाएका छन् । वडा अध्यक्ष बुढाले भने आफू व्यवस्थापन समिति गठनको भेलामा निमन्त्रणा गरेका कारण गएको तर कुनै पनि अराजक गतिबिधिमा संलग्न नभएको बताएका छन् ।

भेलामा अभिभावकहरुबीच विवाद् भएर झडप भएको तर त्यसमा आफ्नो कुनै संलग्नता नरहेको उनले बताए । आफूलाई गलत आरोप लगाएर बदनाम गर्न खोजेको उनले बताए । व्यवस्थापन समिति गठनको बिषयमा विवाद् भइ झडप भएको जानकारी आएको तर अहिलेसम्म कसैको जाहेरी प्राप्त नभएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए ।

`घटना भएको सत्य हो । घटनामा दुई जना नेकपा बहुमतका कार्यकर्ता घाइते भएका छन् । उनीहरु उपचारपछि डिस्चार्ज भैसकेका छन्,´ उनले भने,`प्रधानाध्यापक सकुशल हुनुहुन्छ । घटनाबारे बिस्तृत बुझ्ने काम भैरहेको छ ।´

कमेन्टहरु