धर्म–संस्कृति/रीतिथिति

आज पहाडी क्षेत्रमा फागुपर्व मनाइँदै

नवलपुर टुडे
२०८१ फाल्गुन २९ | बिहान ०७:११ बजे

काठमाडौं, फागुन २९। देशका पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदैछ।यो पर्व फाल्गण शुक्ल पूर्णिमामा मनाइन्छ। योपटक भने आज बिहान १० बजेर ३२ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि पूर्णिमा लाग्ने पञ्चांगमा उल्लेख छ। यो पर्वलाई पुरानो कटुता समाप्त गरेर एक आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ।

वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि पानी छ्यापेर र विभिन्न प्रकारका रङ दलेर बनाएर मनाउने चलन छ। यही पर्वलाई तराई–मधेश क्षेत्र होलीका नाममा पूर्णिमाको भोलिपल्ट मनाउने परम्परा छ। फागु पर्वलाई होली पनि भनिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको बताइन्छ। होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ।

काठमाडौं उपत्यकामा फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर (विशेषरूपले सजाएको लिंगो) गाडेपछि फागुपर्व शुरू हुन्छ। पूर्णिमाको रातमा चीर ढालेर जलाएपछि समाप्त भएपछि सकिन्छ। तराई–मधेश क्षेत्र भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ। फागुपर्वका अवसरमा सरकारले पहाडी जिल्लाहरूमा सार्वजनिक विदा दिएको छ।

कमेन्टहरु