खेलकुद

प्रधानमन्त्री कपः आर्मी र पुलिसको लगातार दोस्रो जित

नवलपुर टुडे
२०८१ फाल्गुन २८ | मध्यान्ह ०६:११ बजे

भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय क्लब त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले लगातार दोस्रो खेलमा जित हासिल गरेका छन्। बुधबार आर्मीले सुदुरपश्चिमलाई ८ विकेटले हराउँदा पुलिसले कोशी प्रदेशलाई १ सय ५४ रनले हरायो।

भैरहवामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रन बनाएको थियो। पुलिसका लागि कुशल भुर्तेलले ६५ तथा दिलिप नाथले ६१ रनको अर्धशतकीय इनिङ खेले।

त्यस्तै अर्जुन साउद र रसिद खानले समान ३८–३८ रन बनाए। कप्तान दिपेन्द्र सिंह ऐरीले ३२ रन बनाउँदा गुल्सन झाले २१ रन बनाएका थिए। कोशीका लागि भुपाल लुइटेलले ३ विकेट लिंदा प्रकाश कार्कीले २ विकेट लिए। त्यस्तै फिर्दोश अन्सारी र सर्वान किस्कु र दिपेश कँडेलले समान १–१ विकेट लिए।

२ सय ८९ रनको लक्ष्य पछ्याएको कोशीका लागि सुजन थपलियाले ३३ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक अन्यको प्रदर्शन गतिलो रहेन। पुलिसका लागि करण केसीले ३ विकेट लिंदा ललित राजवंशी र कुशल भुर्तेलले समान २–२ विकेट लिए। त्यस्तै सागर ढकाल, दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान १–१ विकेट लिए।

त्यस्तै सिद्दार्थनगर रंङ्गशालामा भएको खेलमा सुदुरपश्चिमलाई आर्मीले ८ विकेटले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निश्चल क्षेत्रीको ४९ रनको अविजित इनिङमा १ सय १७ रनको सामान्य स्कोर बनाएको थियो।

उनी बाहेक अन्य कुनैपनि खेलाडी क्रिजमा टिक्न नसक्दा ४५.३ ओभरमै सुदुरपश्चिम अलआउट भयो। सुदुरपश्चिमलाइ अलआउट गर्ने क्रममा साहव आलमले ४ विकेट लिएका थिए।

१ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले उक्त लक्ष्य २३.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। आर्मीका लागि सन्तोष कार्कीले ५५ रन बनाउँदा त्रित राज दासले ३१ तथा विनोद भण्डारीले २० रनको नटआउट इनिङ खेले।

कमेन्टहरु