मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

स्वामिकार्तिक भीरमै अड्कीए स्थानीय तथा सुरक्षाकर्मीको उद्धार

उमेश रोकाया
२०८१ फाल्गुन २६ | मध्यान्ह १२:११ बजे

बाजुरा , फागुन २६ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भीरबाट लडेका युवकको उद्धार गर्न गएका स्थानीय तथा सुरक्षाकर्मीको सकुशल उद्धार गरिएको छ । आइतबार दिउँसो कर्णाली नदीमा माछा मार्न गएका र घर फर्कने क्रममा वडा नम्बर २ का पुसे भण्डारीको भीरबाट लडेर मृत्यु भएको थियो ।

भीरबाट लडेका भण्डारीको उद्धारका लागि गएका सोही गाउँका ८ जना स्थानीयसहित सुरक्षाकर्मीहरु रातभर भीरको तल कर्णाली नदीको किनारामा रोकिएका थिए । जिल्ला प्रहरी कार्यालय बाजुराले उद्धारमा गएका स्थानीय र प्रहरीको सोमवार बिहान करिब ११ बजे हिमाली गाउँपालिकाको धुलाचौरबाट र्‍याप्टिङ ल्याएर सकुशल उद्धार गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले हिजो साँझ राति पनि भइसकेको र भीरबाट शव ल्याएर फर्किन सकिने अवस्था नभएकाले उनीहरु घटनास्थलमै बास बसेका बताएका छन् । उनका अनुसार अहिले कर्णाली नदीमा र्‍याप्टिङको सहायताले सबैको सकुशल उद्धार गरिएको र मृतक भण्डारीको शव आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।

कमेन्टहरु