प्रधानमन्त्री ओलीद्वारा संरक्षितहरू राजतन्त्र पुनर्स्थापना मागको अग्र मोर्चामा


काठमाडौँ । राजतन्त्रको पुर्नस्थापनाको माग गरिरहेका समूह तथा पार्टीको अग्रपंक्तिमा नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा संरक्षण दिइएकाहरू रहेका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौँ आउँदा स्वागत कार्यक्रमको कमाण्ड सम्हालेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं एमालेसँग गठबन्धन गरेर झापा क्षेत्र नं ३ बाट एमालेकै मतबाट प्रतिनिधि सभा सदस्य बनेका हुन्।
राप्रपाको मतले झापा ५ मा ओलीलाई जिताउन र झापा ३ मा एमालेको मतले लिङ्देनलाई जिताउनका लागि गठबन्धन भएको थियो।राजतन्त्र पुनर्स्थापनाको मागमा अहिले अग्रपंक्तिमा देखिएका अर्का व्यक्ति हुन् जगमान गुरुङ। उनी पनि एमालेले नियुक्त गरेको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति हुन्।
अर्का अग्रपंक्तिमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं ओलीकै बलमा पार्टीको केन्द्रीय सदस्य मनोनित भएका व्यक्ति हुन्। अग्रपंक्तिमा देखिएकी गङ्गा थारु पनि एमालेबाटै निर्वाचित पूर्व सांसद हुन्। अर्का अग्रपंक्तिमा देखिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा एमाले पार्टीकै सूर्य चिह्नबाट चुनाव लडेका व्यक्ति हुन्।























