घर खर्च चलाउन गिट्टी कुट्दै कौशीला देवी नेपाली

मुगु । दायाँ हातमा हथौडा, हातभरि फोका। दैनिकी ढुंगासँगै बित्छ उनीहरूको। मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं – ४ की कौशीलादेवी नेपाली र दिलसरा नेपाली दैनिकी गिट्टी कुटेर घर खर्च चलाउँदै आएकी छन्। गिट्टी बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएकी छन्। गिट्टी बिक्रीबाट वार्षिक ५० हजारदेखि एक लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएको दिलसारा नेपाली बताउँछन्।
कौशीलादेवी र दिलसरा सदरमुकाम गमगढी जाने लोकमार्गको गमदुवा ठाउँको छेउमै दिनभर गिट्टी कुट्नमै व्यस्त हुन्छन्। गिट्टी कुटेर घर खर्च चलाउनुका साथै छोराछोरीको पढाइ खर्चसमेत यसैबाट धानेको उहाँहरु बताउछिन् ।
‘गिट्टी कुट्न थालेको तीन महिना जति भयो’ कौशीलादेवीले भनिन्, ‘म लगाएत मेरो छिमेकी दिदीबहिनीले सँगै गिट्टी कुट्छौँ।’ हामी दुबैजना मिलेर चार दिनमा एक ट्र्याक्टर गिट्टी बनाउ छौं । उहाँले भन्नुभयो, ‘एक ट्र्याक्टर गिट्टीवापत हामीलाई सात हजार रुपियाँ दिन्छन् अनि दुबैजनाले तीन हजार ५०० रुपियाँका दरले बाँड्छौँ।’
चार छोराछोरीको विद्यालयको खर्च पनि गिट्टी कुटेकै रुपियाँले चलाउने गरेको उनले सुनाइन्। ‘गिट्टी कुटेको रुपियाँले नुन, तेल, चामल किन्छौँ’, उनले भनिन्, ‘चार जना छोराछोरी छन्, उनीहरूको स्कुल खर्च पनि यसैबाट धानेका छौँ।’ मेरो श्रीमानले खेतबारीमा काम गर्दछन्।‘बिहानै उठ्छौँ। घरको काम सक्छौँ अनि गिट्टी कुट्नका लागि बिहान ९ बजेतिर आउँछौँ’, उहाँले भनिन्, ‘दिनभर गिट्टी कुट्छौँ र साँझ ६ बजेतिर घर जान्छौँ।’ कामको समयमा खेती गर्ने र फुर्सदिलो समयमा गिट्टी कुटेर पनि घर खर्च धान्दै आएको कौशीलादेवीको भनाइ छ। ‘बच्चाहरूको पढाइ खर्च, घर खर्च पनि यसैबाट चलाउँछौँ’, उनले भनिन्, ‘यो काम पनि त्यति धेरै पाइँदैन। गाह्रो नै हुन्छ।’ उनी गिट्टी कुट्ने कामबाट सन्तुष्ट छन्। उनी भन्छिन्, ‘सन्तुष्ट नभएर पनि के गर्ने र? काम गरेर सबैले खानु नै पर्छ।’ गिट्टी कुटेको उचित पारिश्रमिक भने नपाएको उनले गुनासो गरिन्।‘दुःख गरेर हातखुट्टा थिचेर गिट्टी कुट्छौँ’, उनले भनिन्, ‘हाम्रो मिहिनेत हेर्ने हो भने हामीलाई एक ट्र्याक्टरको आठदेखि नौ हजार सम्म दिनु पर्ने हो तर दिँदैनन्।’
ढाटाढाबाट ढुंगा ल्याएर गिट्टी कुट्नुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘हामीलाई हेप्छन्। हामी सात हजारमा दिँदैनौँ भन्छौँ तर उनीहरू धनी हुन्छन्। धनी मान्छेसँग बोल्न सक्दैनौँ हामी गरिब मान्छे।’त्यतिमा नदिए पनि आफ्नो घर खर्च नचल्ने भन्दै उनले भनिन्, ‘के गर्ने हामी दुःखी गरिबले जहाँ पनि दुःखै पाउनुपर्छ।’























