एसईईको नतिजा प्रकाशन नहुदासम्म कक्षा ११ को भर्ना नलिन शिक्षा विभागको आग्रह


काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाले एसईई परीक्षाको नतिजा प्रकाशन हुनु अगावै कक्षा ११ को भर्ना नलिन सम्बन्धित निकाय सबैलाई आग्रह गरेको छ ।
महानगरपालिका शिक्षा विभागले जारी गरेको सूचनामा विद्यालय शिक्षा व्यवस्थापन नियमावाली २०७४ को नियम ४८ (६) मा भएको व्यवस्था विपरीत माध्यमिक विद्यालय र कलेजले शैक्षिक सत्र २०७७ को एसईईको परीक्षा नतिजा प्रकाशन नहुदासम्म कक्षा ११ को भर्ना नलिन सबै मावि, कलेजलाई निर्देशन दिएको छ ।
शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गर्नुभएको सूचनामा कक्षा ११ मा भर्ना गर्दाको समयमा नै ११ र १२ मा विद्यार्थीसँग लिने शुल्क तोक्नुपर्ने, विद्यार्थीसँग रजिस्ट्रेशन दस्तुर, परीक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले निर्धारित शुल्क मात्र लिनुपर्ने, विद्यार्थीलाई किताब, कपी, पोसाक र शैक्षिक सामग्री विद्यालयले भनेकै ठाउँमा किन्नका लागि बाध्य नबनाउनू भनिएको छ।
त्यसैगरी कक्षा ११ र १२ मा विद्यार्थीलाई दिइने सेवा र उनीहरूबाट लिइने शुल्क के–कति हो यही साउन १५ गतेभित्र विभागलाई बुझाउनुपर्ने र कलेजले तोके अनुसार छात्रवृत्ति अनिवार्य रूपमा प्रदान गराउने तथा त्याे सुविधा पाउने विद्यार्थीको विवरण शैक्षिक सत्र सुरु भएको दुई महिनाभित्र विभागमा बुझाउन भनिएको छ ।























