प्रहरी चौकी अगाडि नै तस्करी भइरहेको देखिएपनि सुरक्षा निकाय मौन

सुनसरी । सुनसरीको घुस्की नाकाबाट संगठित तस्करी धानिँदै आएको तथ्यहरू सार्वजनिक भइरहेका छन्। सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल (एपीएफ) का निरीक्षक विकास थापामाथि समेत शंका उब्जिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार, प्रहरी चौकी अगाडि नै तस्करी भइरहेको देखिए पनि सुरक्षा निकाय मौन देखिन्छ।घुस्की नाकामा रातदिन तस्करहरूको चहलपहल रहने गरेको स्थानीयहरूको भनाइ छ।
सीमावर्ती क्षेत्रका पगडण्डी बाटाहरूमा भारतीय मालवाहक सवारी आवतजावत गर्छन्। प्रहरी चौकी नजिकैबाट नै अवैध सामानहरू ओसारपसार भइरहेको देखिए पनि सुरक्षाकर्मी कारबाही गर्न उदासीन देखिएका छन्।बीओपी अगाडि नै मोटरसाइकल, साइकल र ट्याक्टरमा सामान ल्याएर भन्सार छल्ने काम भइरहेको छ। प्रहरीहरू हेर्छन्, तर कारबाही गर्दैनन्,” एक स्थानीय व्यवसायीले भने।स्रोतका अनुसार, तस्करी नियन्त्रण गर्नुको साटो निरीक्षक थापाले आफ्नो गाडी मर्मत तथा इन्धनको लागि स्थानीय तहसँग सहयोग मागेका छन्। “यदि प्रहरी निरीक्षकलाई गाडी मर्मत र इन्धनकै अभाव छ भने त्यसको व्यवस्थापन विभागीय रूपमा हुनुपर्छ, स्थानीय तहसँग होइन,” एक सुरक्षा अधिकारीले भने।तर, यस विषयमा निरीक्षक थापा मौन छन्। यसअघि पनि सीमावर्ती बिओपीहरूलाई तस्करहरूसँग मिलेमतो गरेको आरोप लाग्दै आएको थियो।
तस्करी बढ्दै जाँदा स्थानीय प्रशासन र सुरक्षा निकायहरूमाथि दबाब बढेको छ। घुस्की नाकाबाट चिनी, मैदा, कपडा, रजनीगन्धा, गुट्खा, मोबाइल, मदिरा, पेट्रोललगायत सामग्रीहरू दैनिक रूपमा ओसारपसार हुने गरेको छ।तर, प्रशासनले कुनै ठोस कदम नचालेको स्थानीयहरू बताउँछन्। “यत्रो तस्करी हुँदा पनि प्रशासन किन चुप छ? प्रहरी किन कारबाही गर्दैन?” स्थानीय समाजसेवी रमेश यादव भन्छन्।
के तस्करी नियन्त्रण हुन्छ?
घुस्की नाकाबाटको तस्करी रोक्न प्रशासन गम्भीर भएमा नियमित गस्ती, कडा कारबाही, र सुरक्षाकर्मीको अनुगमन आवश्यक छ। अन्यथा, यस्तै लापरबाहीका कारण सीमावर्ती क्षेत्र तस्करहरूको ‘सेफ जोन’बन्ने खतरा रहन्छ।






















