देश

गलत मान्यता र अभ्यासलाई निर्मूल गर्नुपर्ने आवश्यकता छः उपराष्ट्रपति यादव

नवलपुर टुडे
२०८१ फाल्गुन २४ | बिहान ०७:११ बजे

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले परम्पराको नाममा समाजमा कायम रहेका गलत मान्यता र अभ्यासलाई निर्मूल गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै उनले बालविवाह, बोक्सी, छाउपडी, दहेज आदिलाई परित्याग गर्दै महिला, किशोरी तथा बालिकामाथि हुने सबै खाले विभेद, उत्पीडन, हिंसा, अत्याचारको निर्मूल गर्न जरूरी रहेको उल्लेख गरे ।

महिलाको सशक्तिकरण, समावेशिकरण, समानता, शिक्षा, स्वास्थ्य, आत्मनिर्भरतालगायतको पक्षमा वकालत गर्न यो दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी अन्तरराष्ट्रिय महिला दिवस (८ मार्च) मनाइन्छ । महिलाको सम्मान हामी सबैले गर्न सक्नुपर्ने उनको भनाइ छ । “आमनागरिकका लागि लैङ्गिक समानता र महिलाको अधिकारबारे जागरूकता अभियान थप सक्रियताका साथ चलाउन आवश्यक छ, पछिल्लो समय नेपाली महिलाले विभिन्न क्षेत्रमा महत्वपूर्ण उपलब्धी र सफलता हासिल गर्नु गौरवको विषय हो”, उनले भनेका छन् ।

त्यसमा निरन्तरता कायम राख्दै सफलताको थप उचाइमा पुग्ने प्रयत्न र प्रयासको खाँचो रहेको उल्लेख गर्दै उहाँले आजको सन्दर्भमा, महिला सशक्तिकरण/सबलीकरण एउटा ज्वलन्त प्रश्न रहेको बताए।

सबलीकरणबाटै महिलालाई सामाजिक, आर्थिक र शैक्षणिकरूपमा सुदृढ बनाउन र उनीहरूको व्यक्तिगत पहिचान स्थापित गराउन सकिने उनको भनाइ छ ।

कमेन्टहरु