कुलमान घिसिङलाई सफाई पेस गर्न सरकारको पत्राचार


काठमाण्डौँ, फागुन २२ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सफाइ पेस गर्न पत्राचार गरेको छ। बिहीबार पत्राचार गर्दै मन्त्रालयले मन्त्रिपरिषदको फागुन २१ गते भएको निर्णय अनुसार सफाइ पेस गर्न आग्रह गरेको हो।
मन्त्रिपरिषदमा तीन दिनभित्र सफाइ पेस गर्नुपर्ने पत्रमा उल्लेख छ । ‘ऊर्जा मन्त्रालय र तपाईंबीच भएको कार्यसम्पादन सम्झौताको दफा १०.३ तथा नेपाल विद्युत प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २३ को उपविनियम (१) बमोजिम देहायमा उल्लिखित विषयमा तीन दिनभित्र नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष सफाइ पेस गर्न मौका दिने भनी नेपाल सरकार, मन्त्रिपरिषदको २०८१/११/२१ को निर्णयानुसार आफ्नो सफाइ पेस गर्नु हुन जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ।
त्यस्तै, मन्त्रालयले घिसिङले कार्यसम्पादन सम्झौताको दफा ९।५ को समयसीमाभित्र आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन प्रतिवेदन पेस नगरेको उल्लेख गरेको छ।























