राजनीति

देउवाको सरकार टालाटुली बाटुली, कति राम्री पुलती जस्तै : निवर्तमान प्रधानमन्त्री केपी ओली

जगत ठाडा मगर
२०७८ साउन ४ | मध्यान्ह ०२:०४ बजे

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टालाटुली बाटुली, कति राम्री पुतली जस्तो भएको बताएका छन्।

सोमबार च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमालेको १० औं केन्द्रीय कमिटी बैठकमा ओलीले देउवाले लिएको विश्वासको मत कबाडीको रिसाइकलबाट भाँडाकुडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली भन्ने खालको भएको बताएका हुन्।

निवर्तमान प्रधानमन्त्री ओलीले भने ‘अब सत्ताको दुरूपयोग गरेर हामीमाथि हमला सुरू गर्छन् र जनविरोधी काम सुरू गर्छन्, हाम्रो पंक्तिमाथि हुने सम्भाव्य षडयन्त्र र आक्रमणको अनुमान गरेका छौं।´

उनले कांग्रेस र माओवादी दुबैप्रति आक्रोश पोखेका छन् । ‘कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी हो। माओवादी शिथिल छ नत्र ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो,’ ओलीले भने,‘विगतलाई फर्केर हेर्दा हामी आवश्यकताअनुसार परिआए जुझारू ढंगले सशक्त प्रतिवाद गर्न तयार हुनु पर्दछ।’

उनले अब जन दबाबबाट प्रतिक्रियावादीहरूलाई गर्ने हमला परास्त गर्न संगठन निर्माण गर्ने, आफ्नो सरकारले गरेको राम्रो कामको प्रचार गर्ने, वर्तमान सरकारको भण्डाफोर गर्नु पर्ने बताए। एमाले चिचिलो काँक्रोजस्तो अरूले औंला ठडाएर देखाउँदा झरेर जाने चिज नभएको ओलीको भनाइ थियो। ‘जनताको अपार समर्थन भएको पार्टी हो सबैलाई याद होस्,’ ओलीले भने।

सम्बोधनका क्रममा ओली एमाले वरिष्ठ नेता माधवकुमार नेपालविरूद्ध पनि खनिएका थिए।
ओलीले ‘हामीले १० बुँदे स्वीकार गर्‍यौं, माधव नेपालले मानेनन्। हिजोसम्म बैठकमा आउन आह्वान गर्ने भन्ने आयो। तर अहिले कोटेश्वर घर पुगेका कार्यदलका सदस्यलाई अल्पमतको बैठकमा जान्न भन्ने जवाफ आयो, भनेका थिए । ओलीले भने,‘भीम रावलहरूले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकतावद्ध बनाऔं भन्दा म विधि-निर्णय मान्दिनँ, एक्लै भए पनि भोट हाल्छु भनेर हप्काएर पठाए।’

उपाध्यक्ष भीम रावलले सांसदबाट राजीनामा दिएकोप्रति पनि ओलिले असन्तुष्टि व्यक्त गरे। ‘हतारिएर किन राजीनामा दिएको, सल्लाह गर्नु पर्ने। अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनू,’ उनले भने। आजको बैठकले देउवाको पक्षमा विश्वासको मत दिने २२ सांसदलाई २४ घन्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

बैठकमा बोल्दै ओलीले भनेका थिए- पार्टीमा गुटबन्दी महारोगको नेतृत्व गर्ने माधव नेपालहरूले गरेको गद्दारीका लागि कारबाही गर्ने र फ्लोर क्रस गर्ने अरू सबैलाई २४ घन्टे स्पष्टीकरण सोध्ने। गल्ती स्वीकार गरेर आउनेलाई अन्तिम अवसर दिने।

भोलि दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटीले यसको बाँकी प्रक्रिया पूरा गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। आजको बैठकले विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावलाई पनि पारित गरेको छ।

कमेन्टहरु