नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरू, नेपाल समूह भएनन् सहभागी


काठमाडौ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बिहान साढे ११ बजेदेखि बैठक सुरू भएको हो ।
उक्त बैठक जेठ २ अघिको संरचना अनुसार १० औं बैठक भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। असन्तुष्ट माधव नेपाल पक्षले उठाउँदै आएको माग अनुसार नै बैठक बसे पनि नेपाल पक्षले एकलौटी रूपमा बैठक बोलाएको भन्दै असहमति जनाएको छ।
आइतबार मात्रै नेकपा एमालेको संसदीय दलमा सांसदहरू प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा विभाजित भएका थिए।
एमालेका जम्मा १२१ सांसदमध्ये केहीले पक्षमा मत दिए भने केहीले विपक्षमा मत हालेका थिए तर केही सांसद भने मतदान प्रक्रियामा नै सहभागी भएका थिएनन्।
आन्तरिक विवाद चुलिएको र विवाद समाधान कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव नै सर्वस्वीकार्य नभएका बेला अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्। जेठ २ अघिकै संरचना अनुसार बैठक बसेको भएता पनि वरिष्ठ नेता माधव नेपाल समूहले भने आजको बैठकमा नजाने निर्णय गरेको थियो।
नेपाल पक्षले तत्काललाई पार्टीका सबै बैठकहरू स्थगित गरेर सहमतिका आधारमा मिति तोकेर बैठक बस्ने प्रस्ताव गरिरहेको छ। ‘एकतर्फी रूपमा बोलाइएको आजको बैठकमा पनि हामी जाँदैनौं,’ नेपाल निकट केन्द्रीय सदस्य मेटमणि चौधरीले भने।
विवाद कार्यदलमा सदस्य रहेका नेपाल निकट केन्द्रीय सदस्य गोकर्ण बिष्टले भने आफूहरू अझै पनि पार्टी एकताबद्ध बनाउन जुटिरहेको बताए। बिष्टले भने ‘हामी अहिले अप्ठेरोमा परिस्थितिमा छौं तर पार्टी एकतावद्ध बनाउन प्रयास गरिरहेका छौं´।
आइतबार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बेला बिष्टसहित नेपाल निकट १० सांसदहरु संसद हलबाट बाहिरिएका थिए।






















