मधेश प्रदेश

मधेशी जनता नक्कली मधेसवादी दलको भुलभुलैयामा परे : अध्यक्ष प्रचण्ड

नवलपुर टुडे
२०८१ फाल्गुन १६ | मध्यान्ह ०२:११ बजे

सप्तरी । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सक्कली मधेसवादी माओवादी नै भएको दाबी गरेका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत सप्तरीको राजविराजमा आयोजित कार्यक्रमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले अब सक्कली र नक्कली मधेसवादी छुट्याउने समय आएको बताउँदै माओवादी नै सक्कली मधेसवादी भएको दाबी गरे । अध्यक्ष प्रचण्डले मधेसवादी भनिएका दलहरूको गतिविधि जनतातिर वा मधेसको हिततर्फ नभएको आरोप लगाए ।

माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेस आन्दोलन सम्भव भएको पनि अध्यक्ष प्रचण्डको भनाइ छ । मधेसवादी दल बिस्तारै विघटनतर्फ हिँडेको र जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न सक्ने स्थितिमा देखा नपरेको समेत उनले बताए । अध्यक्ष प्रचण्ड अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने उनले आश्वस्त पारे । प्रचण्डले भने, ‘मधेसी जनता मधेसवादको नारामा स्थापित नक्कली मधेसवादी दलको भुलभुलैयामा परेका छन् ।

उनीहरूबाट मधेसी जनताको मुक्ति नहुने प्रमाणित भइसकेको छ । अब वास्तविक मधेसवादी दल माओवादीसित जोडिनु पर्ने बेला आएको छ ।’ मधेसको मुक्ति विना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै प्रचण्डले मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने एक हजार तीन सय मधेसका सहिदसहित मधेस मुक्तिका लागि ज्यान गुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता व्यक्त गरे ।

कमेन्टहरु