देव पाटा स्मृति दिवसको अवसरमा फलफूल तथा खाद्य सामग्री वितरण


मीन राना
बुटवल, फाल्गुन १४ । रुपन्देहीका पत्रकार स्व. देव बहादुर पाटा मगरको १६ औं स्मृति दिवसको अवसरमा फलफूल तथा खाद्य सामग्री वितरण गरिएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष स्व. देव बहादुर पाटा मगरको स्मृति दिवसमा बुघबार एक कार्यक्रमका बीच बुटवल जीतगढीस्थित कुष्ठरोगबाट प्रभावित व्यक्ति कल्याण समितिमा आश्रितहरुलाई फलफूल, दाल, चामल, तेल, चिनी लगायतका खाद्य सामग्री वितरण गरिएको फोनिज रुपन्देहीका अध्यक्ष मीन बहादुर रानाले जानकारी दिनुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज केन्द्रीय उपाध्यक्ष सरु राना, प्रदेश इन्चार्ज मिलन गाहा, फोनिज रुपन्देहीका निवर्तमान अध्यक्ष सनु थापा, नेपाल मगर संघ बुटवल उपमहानगर उपाध्यक्ष लुम बहादुर सारु मगर, स्व.पाटाका धर्मपत्नी नारायणी पाटा, राज चौधरी, आकृति थापा लगायतको उपस्थितिमा फलफुल तथा खाद्य सामग्री वितरण गरिएको हो ।
बुटवलमा रहेर सक्रिय पत्रकारिता गर्ने क्रममै वि.स. २०६५ सालमा पाटा मगरको बुटवल लखनचोक चौराहामा सडक दुर्घटनामा परी निधन भएको थियो । देव पाटा स्मृति दिवसको अवसरमा फोनिज रुपन्देहीले हरेक वर्ष रचनात्मक कार्य गर्दै आइरहेको छ ।























