शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथ ग्रहण गराउदा राष्ट्रपति र प्रधानमन्त्रीको लोकतान्त्रिक संस्कार देखिएन : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ले यति छिटो यस्तो दुर्दशा हुन्छ भन्ने थाहा पाएको भए एमालेसँग एकताको प्रस्ताव गर्ने थिएन भनेका छन् ।
पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा प्रचण्डले भने, ‘यति छिटो यस्तो दुर्दशा हुने थाहा भएको भए म किन पार्टी एकताको प्रस्ताव लान्थेँ होला, भिन्न मतलाई स्विकार्न सक्ने आँट कोसँग छ भन्ने पनि अहिले देखाएको छ।’
दुई तिहाइको प्रधानमन्त्रीले पटक पटक संसद् विघटन गरेको इतिहासको पहिलो घटना भएको बताए । ‘विगतका थुप्रै विघटनका तीता मीठा यसअघिका वक्ता (प्रदीप ज्ञवाली) ले अनुभव सुनाउनु भयो। तर यस्तो अनुभव त हामीसँग थिएन ।
दुई तिहाइको प्रधानमन्त्रीले पटक पटक संसद् विघटन गरेर देशलाई दुर्घटनामा लैजाने काम त पहिलो पटक भएको हो,’ प्रचण्डले भने । प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथ ग्रहण गर्दा राष्ट्रपति र प्रधानमन्त्रीले लोकतान्त्रिक संस्कार नदेखाएको बताए ।
‘ राष्ट्रपतिको सपथ ग्रहणमा रोकिएको थियो । आउने प्रधानमन्त्री र जाने प्रधानमन्त्री साट बाइ साटमा हुन्थ्यो । कुर्सी साटिन्थ्यो’, उनले भने, ‘तर शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा त्यो देखिएन । नैतिकता र लोकतन्त्रसँग जोडिएको प्रश्न हो । ओलीजीको गतिविधिले नैतिकता र संस्कारको प्रश्न पनि जन्माएको छ।’
प्रचण्डले आजको प्रतिनिधि सभामा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन नगरेकोमा पनि विमति जनाए । उनले भने, ‘यो सदनले केपी ओलीको मुखबाट सुन्न चाहेको थियो तर त्यो भएन । उहाँ बोल्ने भनिएको थियो । त्यो भएन । यसबाट असहज महसुस भएको छ ।’
अब केपी ओलीको जालझेल र झुटा नचल्ने प्रचण्डले ठोकुवा गरे । उनले भने, ‘भन्ने एउटा गर्ने अर्को उहाँको जालझेल र झुटा कुरा चल्दैन हामी जिउँदै छौँ । भ्रष्टाचार पनि गर्दिनँ र गर्न पनि दिन्न भन्ने उहाँको स्लोक भ्रष्टाचारीको संरक्षण गर्न रहेको छ ।
हामीले बुझेका छौँ ।’ यस्तै उनले पार्टीभित्र काम गर्न नदिए संसद् विघटन पर्न पाइन्छ ? भन्दै प्रश्न उठाए । ‘पटक पटक सदनको हत्या गर्नेले ६७ (५) ले लोकतन्त्र जान्छ भनेर कसैले पत्याउँछ । प्रतिनिधिसभाका सदस्यको सार्वभौम अधिकार प्रयोग गर्दा के चिन्ता ?,’ प्रचण्डले भने ।





















