केटी पेरीले गरिन् क्यानाडाका पूर्वप्रधानमन्त्री ट्रुडोसँगको सम्बन्ध पुष्टि


टोकियो। अमेरिकी गायिका केटी पेरीले अन्ततः क्यानाडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोसँगको आफ्नो सम्बन्धलाई पुष्टि गरेकी छन्। केटीले आफ्नो इन्स्टाग्राम खातामा जस्टिन ट्रुडोसँगको टोकियो भ्रमणका धेरै तस्बिरहरू साझा गरेकी छन्। उनले तस्बिरहरूको क्याप्सनमा ‘टोकियो टाइम्स अन टुर एन्ड मोर’ लेखेकी छन्।
साझा गरिएका तस्बिरहरूमध्ये एकमा केटी र जस्टिन सेल्फी लिइरहेका देखिन्छन् र उनीहरूको खुसी स्पष्ट झल्किन्छ। एक भिडियोमा उनीहरू एक रेस्टुरेन्टमा जापानी परिकार ‘सुशी’ खाइरहेको देखिन्छन्, जहाँ जस्टिनले केटीलाई मायालु नजरले हेरिरहेका हुन्छन्। अर्को एक भिडियोमा दुवै जना एक प्रदर्शनीमा अन्तरक्रियात्मक कला कृतिहरू हेरिरहेको पनि देख्न सकिन्छ।
केटी र जस्टिन लामो समयदेखि आफ्नो सम्बन्धका कारण चर्चामा थिए, तर दुवैले आधिकारिक बयान दिएका थिएनन्। केटीको यस पोस्टले उनीहरूको सम्बन्धमा अब मोहर लगाएको छ।

यसअघि, जापानका पूर्व प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो सामाजिक सञ्जालमा आफ्नी पत्नी युको, जस्टिन ट्रुडो र केटी पेरीसँगको एक तस्बिर साझा गरेका थिए।
उनले क्यानाडाका पूर्व प्रधानमन्त्री ट्रुडो आफ्नो साथीसँग जापान आएको र उनीहरूसँग खाजा खाएको उल्लेख गरेका थिए। उनले प्रधानमन्त्री रहँदा ट्रुडोसँग धेरै पटक भेट भएको र दुवैले मिलेर जापान-क्यानाडा कार्य योजनामा काम गरेको पनि लेखेका थिए।
जस्टिन ट्रुडोले किशिदाको यस पोस्टलाई रि-सेयर गर्दै केटी र आफू किशिदा र उनकी पत्नी युकोसँग समय बिताउन पाउँदा निकै खुसी भएको लेखेका थिए।
- दुवैको विगतको सम्बन्ध
केटी पेरीले सन् २०२३ मा अभिनेता ओर्ल्यान्डो ब्लुमबाट आफ्नो इन्गेजमेन्ट तोडेकी थिइन्। उनीहरूको डेजी नामकी एक छोरी छिन्।
अर्कोतर्फ, जस्टिन ट्रुडो र उनकी पूर्व पत्नी सोफी ग्रेगोइरेले सन् २००५ मा विवाह गरेका थिए। उनीहरूका तीन सन्तान छन् – छोराहरू जेभियर र ह्याड्रियन, र छोरी एला-ग्रेस। विवाहको लगभग १८ वर्षपछि सन् २०२३ को अगस्टमा ट्रुडो प्रधानमन्त्री पदमा हुँदा उनीहरूले अलग हुने घोषणा गरेका थिए।























